
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज साउन २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
अपर तामाकोशीले १:१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर अभौतिकिकरण अर्थात् शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ। कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता, कम्पनीमा ऋण दिने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावितलाई भौतिक रुपमा शेयर प्रमाणपत्र वितरण गरिएको हुँदा आफ्नो शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो ।
शेयर रजिष्ट्रार सनराईज क्यापिटल लिमिटेडबाट यथाशीघ्र शेयर प्रमाणपत्र संकलन गरी आफ्नो हितग्राही खाता (Demat Account) मा अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
निकट भविष्यमा कम्पनीले १:१ (एक बराबर एक) का दरले हकप्रद निष्काशन गर्न लागेकोले हकप्रद शेयरको लागि आवेदन दिन समेत डिम्याट खाता खोली शेयर अभौतिकीकरण अनिवार्य रहेको कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले डिम्याट खाता नभएका शेयरधनीहरुलाई समेत समयमै डिमयात खाता खोलि आफनो नामको शेयर अभौतिकिकरण गर्नका लागि अनुरोध गरेको छ ।