नेप्से ३० इन्डेक्स कार्यान्वयनको लागि थप एउटा चरण पुरा, अब मिति सिफारिस मात्र बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 02:43:16 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले इन्डेक्स सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ। नेप्सेको गत बिहिबार बसेको संचालक समितिको बैठकले संचालक अनुज दाहालको संयोजकत्वमा इन्डेक्स सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको हो ।

नेप्सेले  'सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि, २०८०' मा भएको व्यवस्था बमोजिम समिति गठन गरिएको हो। समितिमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत, नेप्सेको प्रशासन तथा वित्त विभाग प्रमुख र बजार सञ्चालन विभाग प्रमुख सदस्य रहके छन् । अनुसन्धान शाखा प्रमुखले सदस्य सचिवको भूमिका निभाउने छन्। समितिले आवश्यकता अनुसार बढीमा २ जना विज्ञहरुलाई बैठकमा आमन्त्रित गर्न सक्ने व्यवस्था गरिएको छ।  

अब  यस समितिले हाल सञ्चालनमा रहेको इन्डेक्सलाई नियमित रुपमा व्यवस्थापन गर्ने, आवश्यकता अनुसार नयाँ इन्डेक्स विकास गर्ने, र इन्डेक्समार्फत बजारमा कुनै कारोबार औजार निर्माण गर्ने छ । 

समिति गठन भएसंगै नेप्से ३० कार्यान्वयनको लागि बाँकि बाटो खुलेको छ।  सो समितिले आवश्यक अध्ययन र परिक्षणपछि नेप्सेको संचालक समितिमा नेप्से ३० कार्यान्वयनको लागि मिति तोक्न प्रस्ताव गर्ने छ ।  संचालक समितिले मिति तोकेपछि बल्ल नेप्से ३० कार्यान्वयनमा आउने छ ।  हाल पनि नेप्सेले नेप्से ३० इन्डेक्सको आन्तरिक रुपमा परिक्षण गरिरहेकोले समितिले सिफारिस गरेपछि र संचालक समितिले अनुमति दिएपछि तुरुन्तै नेप्से ३० कार्यान्वयनको बाटो खुल्ने छ । यसो हुँदा दशैँ अघि नै नेप्से ३० इन्डेक्स कार्यान्वयनमा आउने सम्भावना कायमै छ ।  

के हो नेप्से ३० इन्डेक्स ?

नेप्सेका अनुसार यो फ्रि फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हुनेछ । यस सूचकांकमा नेप्सले बजारमा सूचीकृत भई कारोबारमा रहेका सबै सूचिकृत कम्पनीहरु मध्येबाट यस सूचकमा निम्नानुसारको ५ वटा मापदण्डका आधारमा छनौट भएका प्रमुख ३० वटा सूचीकृत कम्पनीहरुको छनौट गरी इन्डेक्स बास्केट तयार गर्ने छ । यस इन्डेक्स प्रयोजनका लागि सूचीकृत संगठित संस्थाहरुलाई बैक, वित्तीय संस्था (विकास बैंक र वित्त कम्पनी), लघुवित्त, बिमा, जलविद्युत, उत्पादनमुलक तथा व्यापार सेवा र अन्य (बाँकी सबै) गरी ७ समूहमा विभाजन गरिने छ ।  यस इन्डेक्सबाट नेप्सेले भविष्यमा विभिन्न प्रकारका कारोबार उपकरणहरु समेत सञ्चालन गर्न सक्नेछ । 

नेप्से–३० इन्डेक्समा समावेश हुने सूचीकृत संगठित संस्था (कम्पनी) छनौटका आधारः 

१. कम्पनी विगत ५ आर्थिक वर्षमध्ये कम्तिमा ३ वर्ष नाफामा भई अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत वा सोभन्दा बढी रहेको ।

२. कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रिफ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रिफ्लोट बजार पुँजीकरण एक प्रतिशत भन्दा कम नभएको । 

३. प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रति सेयर कितावी मूल्य बढी भएको । 

४. पछिल्लो ६ महिनामा कारोबार दिनमध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएको ।

५. पछिल्लो ६ महिनाको अवधिमा कारोबार भएको सेयर संख्या इन्डेक्स गणना वा रिब्यालेन्सिगका लागि तोकिएको मितिमा कायम रहेको सम्बन्धित कम्पनीको कुल फ्रिफ्लोट सेयर संख्याको कम्तीमा १० प्रतिशत रहेको । 

६. उपरोक्त मापदण्डहरुबाट छनौट भएर आएका कम्पनीहरुको प्रारम्भिक सूची तयार गर्ने । 

७. प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाहरुको फ्रि–प्mलोट बजार पुँजीकरणका आधारमा क्रमबद्ध गरी पहिलो ३० वटा कम्पनीहरु छनौट गर्ने, यसरी छनौट हुने कम्पनीहरुलाई बुँदा नं.६ बमोजिमका ७ वटा समूहमा वर्गीकरण गर्दा कम्तीमा एक समूहबाट एक कम्पनी परेमा त्यसैलाई अन्तिम सूची बनाउने । 

८.प्रारम्भिक सूचीमा कुनै समूहबाट एउटा पनि कम्पनी नपरेमा त्यस्तो सूचीमा कम्तिमा एउटा समूहबाट एउटा कम्पनी पर्ने सुनिश्चित गर्दै सबैभन्दा कम बजार पुँजीकरण भएको कम्पनी हटाई सो स्थानमा समूहमा नपरेको कम्पनीहरु मध्ये प्रारम्भिक सूचीमा रहेको सो समूहको सबैभन्दा बढी पुँजीकरण भएको कम्पनी राखी अन्तिम सूची तयार गर्ने । तर प्रारम्भिक सूचीमा त्यस्तो कुनै कम्पनी परेको नभएमा त्यस्तो कम्पनी छनौट गर्न अनिवार्य नहुने ।

९.कथमकदाचित प्रारम्भिक सूचीमा ३० वटा कम्पनीहरु नै नरहेको अवस्था परेमा प्रतिशेयर आम्दानीको मापदण्ड पूरा गर्ने प्रारम्भिक सूचीमा नपरेका कम्पनीहरुमध्येबाट बढी पूँजीकरण भएको कम्पनी क्रमशः समावेश गरी अन्तिम ३० को सूची तयार गर्ने । यसरी समावेश गर्दा पनि अन्तिम ३० को सूचीमा एउटा समूहबाट कम्तीमा एउटा कम्पनी पर्ने सुनिश्चित गर्ने । 

यस इन्डेक्स गणना गर्नका लागि आधार बजार पुँजीकरण मिति २०७९ पौष ३० गतेको फ्रि फ्लोट बजार पुँजीकरणलाई लिईने छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved