घाटा खाएका कम्पनीहरुमा आईपीओबाट 'असुल्ने' होडबाजी, जोखिममा सर्वसाधारणको लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 12:47:20 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न उदेश्यले सर्वसाधारणमा साधारण शेयर जारी गरिन्छ। कसैले आफ्नो व्यवसायको लागि लगानी जुटाउनलाई सर्वसाधारण शेयर जारी गर्छन् भने कसैले संस्थामा सर्वसाधारणको उपस्थितिको लागि। 

घाटामा रहेका कम्पनीले आइपीओ जारी नै गर्न नपाउने भन्ने हुँदैन। तर त्यो घाटा पूर्ति गरेर एउटा निश्चित अवधिपछि प्रतिफल दिने प्रतिवद्दता जनाएर सर्वसाधारणबाट आईपीओ मार्फत पैसा उठाउने गरिन्छ। तर पछिल्लो समय आइपीओ निष्काशन गरिसकेका र निष्काशनको तयारीमा रहेका  केहि कम्पनीको अवस्था हेर्दा आईपीओ सर्वसाधारणलाई घाटाको भारी बोकाउने माध्यम बन्न लागेको देखिन्छ।   

 पछिल्लो समय साधारण शेयर निष्काशन गरिसकेका तथा गर्ने तयारी अवस्थामा रहेका कम्पनीहरुको अवस्था हेर्दा  लगानी उठाउने भन्दा पनि अरु नै नियत देखिन्छ। नेपाल धितोपत्र बोर्डले कतिसम्मको अवस्थाको कम्पनीलाई आइपीओ ल्याउन दिने भन्ने स्पष्ट अडान लिन नसक्दा सर्वसाधारणको ठूलो  पैसा जोखिममा पर्ने देखिएको छ। 

कम्पनीहरुमा सर्वसाधारणलाई घाटा बोकाउनलाई साधारण सेयर निष्काशन गर्ने होडबाजी चलेको छ । कतिपय त घाटामा गएका उद्योगहरूले समेत सेयर जारी गर्ने होडबाजी गरिरहेका छन् । 

आर्थिक मन्दीले जरो गाडी रहेको र व्यवसायिक माहोलमा सुधार नआएको अवस्थामा धेरैका लागि आइपीओ कमाउने माध्यम बनिरहेको छ। कमाउने यो खेलमा नियमन निकायपनि उत्तिकै साझेदारी बनिरहेको आरोप समेत लागिरहेको छ। नियमन निकाय नेपाल धितोपत्र बोर्डमाथि सर्वसाधारणलाई सजिलै आइपीओ भिडाउनलाई घाटामा रहेका कम्पनीलाई नाफामा देखाउन वा सकारात्मक सूचक देखाउन नीतिमै परिवर्तन गर्दिने गरेको आरोप समेत लागेको छ। 

घाटामा गएका उद्योगहरूको आईपीओ जारी गर्नुुका पछाडी बैंकमा रहेको व्यक्तिगत ऋणको जमानी फिर्ता हुुने र आईपीओ जनतालाई बेचेर आम्दानी गर्ने उद्देश्यले मात्रै रहेको देखिन्छ । अहिले बैंकहरूमा अधिक मात्रामा तरलता थपिएको र लगानीका लागि कुनै नयाँ क्षेत्र नदेखिँदा बैंकमा पैसा खचाखच जम्मा भएर बसेको छ । 

बैंकमा तरलता बढी भएसँगै बैंकले आफ्नो लगानी उद्योग, व्यापार वा घर जग्गामा समेत गर्न नसकेको अवस्थामा पछिल्लो समय आईपीओ जारी गर्ने होडबाजी चलेको एक उद्योगीले जानकारी दिए । यो आईपीओ निष्काशनको होडबाजीसँगै स्वाभाविक सेयरबजारमा एउटा विचलनको अवस्था देखापरेको भन्दै यसको सुधार तत्काल हुन नसकेमा सेयरबजार पनि धराशायी बन्ने ती उद्योगीको भनाइ छ ।

सरकारले सेयरबजारप्रतिको दृष्टिकोण र पोलिसीमा कडाइ गर्नुपर्ने उनीहरूको सुझाव छ । अहिले जस्तो पनि कम्पनीले आईपीओ निष्काशनका लागि निवेदन दिएको र ती कम्पनीलाई  अनुमति प्रदान गरेपछि यस्तो अस्तव्यस्त अवस्थाबाट बजार र समग्र अर्थतन्त्रको सुधार हुन नसक्ने उद्योगी तथा व्यवसायीको दाबी छ ।

२०२३ को सुरुदेखि नै ओरालो लाग्दै आएको नेप्सेको यात्रामा २०२४ को सुरुवाती अवस्थासम्म पनि अपेक्षाकृत सुधार हुन सकेको छैन । पछिल्ला महिनाहरूमा अपेक्षा गरेभन्दा सुस्त गतिमा बढिरहेको नेप्सेले कर्पोरेट क्षेत्रको आम्दानी र नाफाको बारेमा चिन्ता निम्त्याइरहेको अवस्थामा करिडोरमा थलिएका र घाटामा सञ्चालन भइरहेका केही उद्योगहरूले आईपीओ जारी गर्न लामबद्द भएपछि पछिल्लो समय सेयर कारोबार नै धराशायी हुने अवस्था आउने हो कि भन्ने प्रश्न खण्डा हुन पुगेको छ ।

सेयरबजार एउटा निश्चित बिन्दुमा पुगेर फेरि कुनै बिन्दुमा झर्नु वा घट्नु स्वाभाविक भए पनि बजार बढिरह्यो भने पनि निकट भविष्यमा त्यसको ठूलो क्षति लगानीकर्ताले भोग्नुपर्ने हुन्छ । सेयरबजार ठूलो परिमाणमा घट्यो भने पनि अब खराब यात्राको समापन भएर नयाँ यात्राको तय हुँदै छ कि भन्ने विश्वास आम नागरिकमा जागेको देखिन्छ । तर, ती अवस्था केही पनि नहुुँदा–नहुुँदै अहिले सुुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका केही उद्योगका नाममा आईपीओ जारी गर्ने होडबाजी किन बढ्यो भन्नेमा सेयरबजारका खेलाडीहरू नै आश्चर्यमा छन् ।

अहिले नेपाल धितोपत्र बोर्डमा १३ कम्पनीका १२ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशनको सुरुवाती तहमा रहेका छन् भने १५ कम्पनीका ११ अर्ब रुपैयाँ बराबरको १५ कम्पनी आइपीओं निष्काशनको लागि दोस्रो तहको तयारीमा छन् भने केहि कम्पनी निष्काशनको अनुमति पाउने अवस्थामा छन्। 

यत्ति मात्र नभई पछिल्लो नियमन निकायसंग मिलेर केहि कम्पनीहरु पहिला हकप्रद मार्फत पुँजी बढाउने र पछि शेयर संरचना मिलाउन महँगो मुल्यमा सर्वसाधारणलाई शेयर भिडाउने गम्भीर षडयन्त्र चलिरहेको छ।  सर्वसाधारण लुट्ने कम्पनीहरुको यो खेलमा तालुकदार नियमन निकाय र नेपाल धितोपत्र बोर्डले पनि साथ् दिंदा हजारौं सर्वसाधारणको अरबौं रुपैयाँ जोखिममा पर्न सक्ने विश्लेषण गरिएको छ। कति र कस्ता खराब कम्पनीले आइपीओ जारी गरिसके र कति पाइपलाइनमा छन् भन्नेबारेको विस्तृत जानकारी बिजपाटीमा क्रमश प्रकाशित हुने  छ।

यो पनि: काठमाडौँ पाउरोटी र सयपत्री कलर ल्याब जस्ता नबनुन् आइपीओ ल्याउने नयाँ कम्पनी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved