
नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले गत वैशाख २५ गते मंगलबार देखि नै लागु हुने गरि कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।
नेप्सेले वैशाख २८ गतेको निर्णय अनुसार कम्पनीलाई सचेत गराउदै कारोबार फुकुवा गरेको जनाएको छ। कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ ( १ ) (ग) मा भएको व्यवस्था पालना नगरेकोले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।
कम्पनीले वैसहखा २६ गते नेप्सेमा धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्र मार्फत प्रतिबद्धता व्यक्त गरेकोले उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम शेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
तर बीमा प्राधिकरणले लाभांश रद्द गर्न निर्देशन दिएपछि कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले लाभांश रद्द गरेको छ । पटक पटक लाभांश सूचना परिवर्तन गरेको भन्दै नेप्सेले कारोबार रोकेको थियो ।