नेपाल राष्ट्र बैंकले जाल्पा लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ।
अन्तिम स्वीकृति पाएसँगै ती दुबै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्ने छन् ।
बुटवल उपमहानगरपालिका-११, रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र लम्कीचुहा नगरपालिका- ४, कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/ गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।
यी दुई कम्पनीले गत चैत १८ गते एकापसमा मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
जाल्पाको १ कित्ता शेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा मर्जर भएको बताइएको छ । मर्जर पश्चात अध्यक्ष जाल्पाको तर्फबाट हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत किसान लघुवित्तको तर्फबाट बन्ने बुझिएको छ ।
हाल जाल्पा लघुवित्तको चुक्तापूँजी १६ करोड छ भने किसान लघुवित्तको चुक्तापूँजी ४७ करोड १३ लाख रुपैयाँ छ ।