१६.८अर्बमा खुम्चियो बजार,शेयर निष्कासन प्रक्रिया बढेकाले बजार बढ्ने विश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2024 | 08:27:12 AM मा प्रकाशित

यो साता नेप्से परिसूचक ४३.३८ अंकले घटेको छ ।

यो साता नेप्से परिसूचक २ हजार ६८.९१ विन्दुमा बन्द भएको छ ।अघिल्लो साता भने नेप्से २ हजार ११२.२९ को विन्दुमा बन्द भएको थियो । सातामा शेयर बजारमा चार दिन कारोबार भएको  छ । उक्त अवधिमा बजार तीन दिन घटेको थियो भने एक दिनमात्रै बजार बढेको थियो ।एक दिन सार्वजनिक बिदा परेकाले यो साता चार दिन मात्र बजार खुला भएको थियो । 

यो साता परिसूचक र कारोबार रकममा आएको वृद्धिले बजार सकारात्मक बन्ने अपेक्षा गरिए पनि त्यो हुन सकेन । अघिल्लो साता ३४.५१ अंकले बजार बढेको थियो । यो साता भने बजार ४३.३८ अंकले घटेको छ ।

यो साता भने दोस्रो बजारमा १६.८ अर्बको कारोबार भएको छ ।अघिल्लो साता चाहिं २८.५७ अर्ब  रुपैयाँको कारोबार भएको थियो । यसआधारमा हेर्दा यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबै घटेको छ । अघिल्लो साता भने दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै बढेको थियो ।  

यो साता बजार पूँजीकरण ३२.७९ खर्ब रहेको छ । अघिल्लो साता बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब रुपैयाँ थियो । यसआधारमा हेर्दा यो साता बजारमा गिरावट आएका कारण ७० अर्बले बजार पूँजीकरण घटेको छ ।

यो साताको कारोबारलाई हेर्दा लगानीकर्ताको मनोबल निकै कमजोर बन्दै गएको देखिन्छ । धितोपत्र बोर्डमा लामो समयदेखि अध्यक्ष नियुक्त हुन नसक्नुका कारण लगानीकर्ताको मनोबल कमजोर भएको ब्रोकरहरू बताउँछन् ।

छ महीना वित्न लाग्दा पनि सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्न सकेको छैन। अझ अध्यक्ष नियुक्ति प्रक्रिया अझै लम्बिने देखिन्छ ।  कानूनी जटिलताका कारण यतिबेला बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अन्योल अवस्थामा छ । हुन त अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिने भएपछि ढिलै भएपनि बोर्डले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया भने अघि बढाएको छ ।

गत पुस १९ गतेपछि रोकिएको सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएर खुला गरेको छ ।प्रक्रिया पुरा भएका र कैफियत नदेखिएका अरु कम्पनीलाई पनि अनुमति दिंदै जाने योजना रहेको धितोपत्र बोर्ड स्रोतले बताएको छ ।

यो साता बजारमा वित्त समूहबाहेक सबै समूहगत परिसूचक घटेका छन् । गत साताको तुलनामा यो साता वित्त समूहको परिसूचक २.६४ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंकको परिसूचक भने सर्वाधिक ३.०३ प्रतिशत घटेको छ ।

त्यसैगरी, लघुवित्तको २.८४ प्रतिशत, व्यापारिकको २.७४ प्रतिशत, लगानीको १.९७ प्रतिशत, बैंकिङको २.४७ प्रतिशत, जीवन बीमाको २.२८ प्रतिशत, अन्यको २.१८ प्रतिशतले घटेको  छ । त्यस्तै, उत्पादन तथा प्रशोधनको २.०७ प्रतिशत, निर्जीवन बीमाको १.५९ प्रतिशत,जलविद्युत समूहको ०.८४ प्रतिशत र  होटल तथा पर्यटनको १.९६ प्रतिशतले परिसूचक घटेको छ । 

यो साता लघुवित्त र जलविद्युत कम्पनीहरुले राम्रो आम्दानी गरेका छन् । जसको शिर्षस्थानमा नेपाल फाइनान्स छ । कम्पनीका लगानीकर्ताहरुले २६ प्रतिशतसम्म आम्दानी गरेका छन् ।

त्यस्तै दोस्रो नम्बरमा समाज लघुवित्त वित्तीय संस्था छ। कम्पनीका लगानीकर्ताहरुले करिब १४ प्रतिशत, मान्डु हाइड्रो पावरका लगानीकर्ताहरुले करिब १२ प्रतिशत, उपकार लघुवित्त  वित्तीय संस्थाका लगानीकर्ताहरुले ११.६७ प्रतिशत आम्दानी गरेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved