नेपाल र भारतमा बिहीबार उच्च अंकले बजार बढ्दा सार्क मुलुकका अन्य सदस्य राष्ट्रहरुमा पनि शेयर बजारमा उत्तारचढाव देखिएको छ ।
नेपालमा पछिल्लो २७ महिनादेखि सुस्त रहेको शेयर बजारमा एकाएक सत्ता राजनीति फेरबदलसँगै शेयर बजार पनि उत्साहित छ । शेयर बजार भनेको देशको अर्थतन्त्र नाप्ने ऐना पनि हो । अहिले नेपालमा समग्र आर्थिक अवस्थामा केहि सुधार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ ।
नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर स्थायी सरकार दिने निर्णयले पनि यतिबेला बजार सकारात्मक दिशातर्फ गएको छ भने लगानीकर्ताले पनि दुई ठूला राजनीतिक दलको समिकरणलाई सकारात्मक हिसाबले लिएको केहि दिन यताको बजार वृद्धिले पुष्टि गरेको छ ।
नेपालमा मात्र होइन,भारतमा पनि आम निर्वाचनपछि शेयर बजारले नयाँ गति लिएको छ । भारतमा गत महिनाअघि भएको लोकसभा चुनावमा आएको अपेक्षित नजिताले शेयर बजारमा ठूलो पहिरो गएको थियो । भारतीय जनता पार्टि(बीजेपी) को पक्षमा अपेक्षित परिणाम नआउँदा भारतका दुई प्रमुख शेयर बजार सूचक सेन्सेक्स र निफ्टीमा भारी अंकको गिरावट आएको थियो। झण्डै सेन्सेक्स ५.७ प्रतिशतले घटेर ७२ हजार ७९ को विन्दुमा बन्द भएको थियो भने निफ्टी ६ प्रतिशतले घटेर २१ हजार ८८४ को विन्दुमा झरेको थियो ।
भारतीय शेयर बजारको यो गिरावट पछिल्लो चार वर्षयताकै उच्च थियो तर चुनावपछि बीजेपीको पूर्ण बहुमत नआएपनि नरेन्द्र दामोदर दास मोदीकै नेतृत्वमा सरकार बनेपछि शेयर बजारमा पनि सुधार आएको छ । हाल भारतीय शेयर बजार बम्बे स्टक एक्सचेन्ज सेन्सेक्स ०.६८ प्रतिशतले बढेको छ भने नेशनल स्टक एक्सचेन्ज निफ्टी पनि ०.१७ प्रतिशतले बढेको छ । सेन्सेक्स ८१ हजार ११९ को विन्दुमा पुगेको छ भने निफ्टी ५० पनि बढेर २४ हजार ७३४ को किर्तीमानी उचाईमा छ ।
त्यस्तै बंगलादेशको ढाका स्टक एक्सचेञ्जको सूचक भने घटेको छ । उक्त स्टक ३८.११ अंकले घटेर ५ हजार ४४५ विन्दुमा आइपुगेको छ । त्यस्तै भुटानको रोयल सेक्युरेटिज एक्सचेन्जमा पनि बजार पछिल्लो एक महिनादेखि घट्दो क्रममा रहेको छ । हाल स्थिर अवस्थामा रहेको शेयर बजारमा अघिल्लो साता १ हजार ५६८ विन्दुसम्म पुगेको बजार बिहीबारसम्म आइपुग्दा १ हजार ५०९ विन्दुमा आइपुगेको छ ।
त्यस्तै श्रीलंकाको कोलम्बो स्टक एक्सचेञ्ज(सीएसई) पनि घटेको छ। यो दिन ६०.५० अंकले घटेर ११ हजार ७६९.९८ विन्दुमा आइपुगेको छ ।पाकिस्तानको कराँची स्टक एक्सचेन्ज भने यो दिन ०.५४ प्रतिशतले बढेको छ ।यो दिन ५२०.८३ अंकले बजार बढेर ८१ हजार ६५०.३१ विन्दुमा आइपुगेको छ ।एजेन्सीहरुको सहयोगमा