साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २ हजार २२४.३२ विन्दुमा आइपुगेको छ ।
यो विन्दु भनेको २७ महिनापछि कै उच्च विन्दु हो । यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.३७ अंकले बढेर ४३६.१४ विन्दुमा पुगेको छ । त्यस्तै यो दिन धितोपत्र र ऋणपत्रसमेत गरेर कारोबारमा आएका ३१२ कम्पनीको करिब ४ करोड कित्ता शेयर खरिदबिक्रीहुँदा १५अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । त्यस्तै मंगलबार ९ अर्बभन्दा माथि कारोबार भएको थियो ।
आजको कारोबार २०७८ भदौ १३ गते भएको थियो । यो दिन ३१२ वटा कारोबार भएका कम्पनीहरुमध्ये १४३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
यो दिन पनि उच्च अंकले बढेको बजारमा पाँच वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,नेपाल फाइनान्स,आँखुखोला जलविद्युत,उपकार लघुवित्त वित्तीय संस्था र थ्रीस्टर हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले सर्किट लागेको छ। त्यस्तै यो दिन कुमारी सबल योजनाको इकाई ५.७६ प्रतिशतले घटेको छ ।त्यस्तै सिन्धु विकास बैंकको शेयरमूल्य ४.५७ प्रतिशतले घटेको छ ।
यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स रहेको छ । उक्त कम्पनीको ४२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अपर तामाकोशी, न्यादी गु्रप पावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक,कुमारी बैंकको शेयरमूल्य २३ करोड रुपैयाँदेखि ३८ करोड रुपैयाँसम्मको उच्च कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये हाइड्रोपावर र वित्त उपसमूह बाहेक अरु सबैमा हरियाली छाएको छ । यो दिन सबैभन्दा धेरै बैंकिङ उपसमूह ६.२८ प्रतिशतले बढेको छ। त्यसैगरी, दोस्रोमा लघुवित्त उपसमूह २.७७ प्रतिशतले बढेको छ । उता तेस्रोमा अन्य उपसमूह २।३० प्रतिशतले बढेको छ।यो दिन वित्त उपसमूह १.२७ प्रतिशतले घटेको छ।
आजको बजार वृद्धि बारे लगानीकर्ता घनश्याम पाण्डेले बजार दिर्घकालीन लक्ष्यसहित अघि बढेको बताएका छन् । उनले भने,‘ अहिले सबै पक्षले बजारलाई साथ दिएको छ, सरकार पनि स्थायी छ,लगानीकर्ताले रुचाएको अर्थमन्त्री छन्, बैंकमा पनि टन्न पैसा छ, अहिले बजारले खोजेको सबै कुरा छ,त्यसैले शेयर बजार बढ्न पुगेको हो ।’
त्यस्तै अर्को लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बजार निकै तल्लो विन्दुसम्म घटेको हुँदा अब बजार बढ्नुको विकल्प नभएको बताए । उनले भने,‘ जति घट्नु थियो घट्यो, स्थिर सरकार भएन भन्यौं, भयो, राष्ट्र बैंक र गभर्नरबीच कुरा मिलने भन्यौं, अहिले मिल्यो, बैंकमा तरलता संकट आयो भन्यौं, अहिले बैंकमा लगानी गर्न पैसा छ, भनेपछि सबै हिसाबले लगानीकर्ताहरुले खोजेको आत्मविश्वास छ ।’