
नेप्से परिसूचकमा एकाएक भएको वृद्धिले लगानीकर्ताहरुमा उत्सव छाएको छ । यो साता पाँच दिन कारोबार भएको छ। उक्त अवधिमा नेप्से परिसूचक २१९.६९ अंकले बढेर २ हजार ४२४.३२ विन्दुमा आइपुगेको छ ।
यो साता नेप्से सूचक २ हजार २ हजार २३०.५० को न्युनतम् विन्दु र २हजार २२४.५९ को उच्चविन्दुमा रह्यो ।यो साता १९४.०९ विन्दुको उत्तारचढाव देखिएको छ ।नेप्सेको यो अंक २७ महिनायताकै उच्च हो । नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकमले पनि बुल यात्राकै संकेत गरेको छ ।
अघिल्लो साता ८४.९ अंकले बजार बढेर २ हजार २०४.६१ विन्दुमा बन्द भएको थियो । उक्त साता न्युनतम विन्दु २ हजार १२१.९९ न्यनतम् विन्दुबाट बढेर २ हजार २०५.१५ विन्दुमा पुगेको थियो । अघिल्लो साता ८३.१६ प्रतिशतको उत्तारचढाव देखिएको थियो ।कारोबार रकम पनि अघिल्लो साताको तुलनामा यो साता करिब ८३ प्रतिशतले बढेको छ ।अघिल्लो साता २८ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
अघिल्लो साताको तुलनामा यो साता लगानीकर्ताहरु उत्साहीत बन्न पुगेका छन् । करिब ३४ महिनापछि शेयर बजारमा आएको सुधारले लगानीकर्ताहरु उत्साहित भएका हुन् । यतिबेला सबै पक्षले शेयर बजारलाई साथ दिएको अवस्था छ । बैंकको ब्याजदर घट्दो क्रममा छ । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार गठन गरेकाले लगानीकर्ताले सरकार अगामी दिनमा स्थायी हुने विश्वास लिएका छन् ।
नेपाल राष्ट्र बैंकले अबको केहि दिन भित्रमा चालू आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउँदै छ । शेयर बजारमा विगतमा गरिएको कडा नियमलाई यसपटक खुकुलो बनाउने रणनीति केन्द्रीय बैंकको छ ।
मौद्रिक नीतिबाट लगानीकर्ताले आश गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको बढी स्वामित्व रहेको धितोपत्र दोस्रो बजारमा मौद्रिक नीतिले निकै प्रभाव पार्ने गर्छ । यो वर्ष बजारका लागि सकारात्मक मौद्रिक नीति आउनेमा लगानीकर्ता आशावादी छन् ।
बजार लामो समयसम्म निरन्तर घटेर तल्लो विन्दुसम्म आइपुगेको अवस्थामा थियो भने बैंक, उत्पादनमूलक कम्पनीहरुको शेयरमूल्य पनि तल्लो विन्दुमा थियो । अहिले सबै हिसाबले सुधार आएको छ।
लगानीकर्ता घनश्याम पाण्डेले लगानीकर्ताको आत्मविश्वास बढेकाले शेयर बजारले दिर्घकालीन लक्ष्य समातेको बताए । उनले भने,‘ अहिले सबै हिसाबले बजारलाई साथ छ, स्थायी सरकार छ,लगानीकर्ताले रुचाएको अर्थमन्त्री छन्, बैंकमा टन्न पैसा छ, अहिले बजारले खोजेको सबै कुरा छ,त्यसैले शेयर बजार अझै अगाडि बढ्छ।’ त्यस्तै अर्को लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार निकै तल्लो विन्दुसम्म घटेकोले अब बजार बढ्नुको विकल्प नभएको बताउँछन् ।
उनले भने,‘जति घट्नु थियो घट्यो, स्थिर सरकार भएन भन्यौं, भयो, राष्ट्र बैंक र गभर्नर बीच कुरा मिलेन भन्यौं, मिल्यो, बैंकमा तरलता संकट आयो भन्यौं, अहिले बैंकमा लगानी गर्न पैसा छ, यो अवस्थामा लगानीकर्ताहरुमा आत्मविश्वास पनि छ ।’
अघिल्लो साताको तुलनामा बजार पूँजीकरण १० प्रतिशतले बढेको छ । अघिल्लो साताको तुलनामा लगानीकर्ताको सम्पती ३४ अर्ब ९७ करोड रुपैयाँले बढेको छ । अघिल्लो साता ३४ खर्ब ९६ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण यो साता आइपुग्दा ३८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।