
साताको चौथो कारोबार दिन बुधबार बजार घटेको छ । यो दिन बजार २७.३२ अंकले घटेर २ हजार ५३६.११ विन्दुमा आइपुगेको छ ।
यो दिन घटेको बजारमा कारोबार भने बढेको छ । यो दिन ३११ कम्पनीको ४ करोड ७ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्से परिसूचक ७५.३३ अंकले बढेर २ हजार ५६३.४३ विन्दुमा बन्द भएको थियो । बढेको बजारमा उक्त दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको थियो ।
यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा आइपुगेको छ।
यो दिन होटल एन्ड टुरिजम र वित्त उपसमूहबाहेक अरु सबै समूह राताम्य भएको छ ।यो दिन सबैभन्दा बढी ब्यापार समूह ३.०९ प्रतिशतले घटेको छ। त्यसपछि दोस्रोमा हाइड्रोपावर समूह १.५७ प्रतिशतले घटेको छ ।त्यस्तै अपर तामाकोशीको २९ करोड ४७ लाखभन्दा माथिको कारोबार भएको छ ।
यो दिन अल्पकालिन लगानीकर्ताले प्रोफिट बुक गरेका कारण नेप्सेमा करेक्सन आएको लगानीकर्ताले बताएका छन् ।चालू आर्थिक वर्षको पहिलो कारोबार दिनदेखि निरन्तर बढीरहेको छ । पछिल्लो ६ कारोबार दिनमा भने नेप्से ३२२.९९ अंकले बढिसकेको छ। उच्च अंकमा बजार बढिसेका कारण अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेकाले यो दिन बजारमा करेक्सन भएको हो।
यसैगरी, यो दिन शिर्ष कारोबार हिमालयन रिइन्स्योरेन्सको छ । उक्त कम्पनीको ३६ करोडभन्दा माथिको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ३४ करोडभन्दा माथिको कारोबार भएको छ ।
यो दिन तीन वटा अलग -अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल(तराई), एशियन हाइड्रोपावर र चन्द्रागिरी हिल्स लिमिटेड रहेको छ ।समृति फाइनान्सको शेयरमूल्य ९.६५ प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.१७ प्रतिशतले बढेको छ ।
चिरख्वा हाइडेपावर र सुपर मादि हाइड्रोपावरको शेयरमूल्य भने ६.०८ देखि ७.७९ प्रतिशतसम्म घटेको छ।