साताको चौथो कारोबार दिन बुधबार भएको शेयर कारोबारले नेपालको पूँजी बजारको इतिहासमा कीर्तिमान रचेको छ ।यसलाई आधारमान्दा नेप्सेले करिब ३ वर्षपछि नयाँ रेकर्ड बनाएको छ ।
यो रेकर्ड भने शेयर कारोबार बन्द हुुनुअघिको ५ मिनेटमा लगानीकर्ताहरुले शेयर खरिदबिक्री गरेका कारण सम्भब भएको हो । यस्तो धितोपत्र बजारमा विरलै देख्न पाइन्छ । शेयर बजारको कारोबार बन्द हुने समय हो, ३ बजे । २ बजेर ५५ मिनेट जाँदा लगानीकर्ताहरु शेयर बिक्री गर्न जसरी हतारोमा थिए, त्यसले नै बजारमा ऐतिहासिक नयाँ रेकर्ड कायम गराएको हो ।
बजार बन्द हुन पाँच मिनेटअघि नेप्सेमा २१ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो । तर कारोबार बन्द हुने पाँच मिनेटमा झण्डै ५७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको देखिन्छ ।
यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएर उच्च रेकर्ड बनेको थियो ।
यो पाँच मिनेटमा के हुन्छ ?
यो पाँच मिनेटमा के हुन्छ ?, लगानीकर्ता हतारिएर छिटोछिटो शेयर किन बिक्री गर्छन् भनेर हामीले बजार विश्लेषक एवं लगानीकर्ता देव गुरागाईलाई प्रश्न सोधेका थियौं ।
उनले यसको जवाफ यसरि दिए, ‘यो चलखेलभन्दा पनि किन्ने पर्खाइमा बसेका लगानीकर्ताहरु अब बजार बन्द हुन लाग्यो सस्तोमा शेयर पाइन्छ भनेर किन्न हतारिन्छन् अनि बिक्री गर्न बसेका लगानीकर्ताहरु पनि मौका यहि हो भनेर अतालिएर बेच्न तयार हुन्छन्, यहि कारणले कारोबार रकम बढ्न गएको हो, अरु कारण त्यस्तो केहि छैन । ’
उनले भने,‘यो खरिद गर्ने र बिक्री गर्ने बीचको तिब्र प्रतिस्पर्धा हो,त्यसले कारोबार ह्वात्तै बढाउँछ ।’