साप्ताहिक शेयर समीक्षा : बढेको बजार अझ अगाडि बढ्ने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2024 | 09:17:47 AM मा प्रकाशित

यो साता धितोपत्र बजारमा समग्र कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकमसमेत बढेको छ । समग्र बजार र कारोबारलाई विश्लेषण गर्दा यो साता शेयर बजार ऐतिहासिक बनेको छ ।

यो साता पाँच दिन कारोबार भएकोछ । पाँच कारोबारमा बजार तीन दिन बढेको छ भने दुई दिन मात्रै घटेकोछ। अघिल्लो साता २ हजार ५६८.१३ बिन्दुमा बन्द भएको नेप्से यो साता २ हजार ७५५.६२ को बिन्दुमा बन्द भएकोछ । यसलाई आधार मान्दा यो साता बजार १८७.४९ अंकले बढेको छ।

अघिल्लो साता भने बजार करिब १४३.८१ अंकले बढेको थियो। त्यस्तै कारोबारलाई हेर्दा यो साता दोस्रो बजारमा तीन वर्ष पछिकै उच्च कारोबार भएको छ । यो साता ९६.३१ अर्बको कारोबार भएको छ  । यो विसं २०७८ साल भदौ महिना पछिकै उच्च कारोबार हो ।

गत साता पाँच कारोबार दिनमा ७३ अर्ब ६१ करोड ६६ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम करीब ३१ प्रतिशत र कारोबार कित्ता १७ प्रतिशतले बढेको छ ।

यो साता बजार पूँजीकरण ४३.७२ खर्ब पुगेको छ । अघिल्लो साता भने बजार पूँजीकरण ४० खर्ब ७४ अर्ब थियो । यो साता बजारमा बढोत्तरी आँउदा लगानीकर्ताहरुको सम्पत्ति २ खर्ब ९८ अर्बले बढेको छ । 

नयाँ सरकार गठनपछि शेयर बजार २२ प्रतिशतले वृद्धि भइसकेको छ । बजार बढेसँगै करोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । लगातार पाँच सातादेखि बजार बढ्ने क्रम रोकिएको छैन ।

छोटो समयमा नेप्से धेरै बढेकोले अब बजारमा करेक्सन आउन आवश्यक रहेको लगानीकर्ताले बताएका छन् । सहज  र  लचक मौद्रिक नीति आएसँगै शेयर बजारतर्फ नयाँ लगानीकर्ता पनि आकर्षित भएका छन् । लगानीकर्ताको मनोबल बढ्दा अहिले बजारमा कारोबार रकम पनि उच्च भएको छ।

करेक्सनविना शेयर बजार उच्च दरले बढेपछि कतिपय लगानीकर्तामा अन्योलता थपिएको छ ।  यो साता बजार दुई दिन सामान्य करेक्सन देखिए पनि बाँकी तीन दिन उच्च दरले बढेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई लागेको २० करोडको क्याप दोस्रो सर्कुलरमार्फत् पूर्णरुपमा  हटाइएपछि बजार सोमबार अझ उच्च दरले बढ्ने संकेत  देखिएको छ ।सार्वजनिक विदाका कारण आइतबार बजार खुल्ने छैन।

यो साता फाइनान्स समूह आक्रामक रुपमा बढेको  देखिएको छ ।  यो साता फाइनान्स समूह २०.२९ प्रतिशत बढेर ३ हजार ५६८ विन्दुमा पुगेको छ । द्रत गतिमा यो समूह बढेकाले जोखिम भने उत्तिकै छ।

फाइनान्सको यो अंक अहिलेसम्मकै उच्च हो ।  कमजोर वित्तीय स्थिति भएका धेरै फाइनान्स कम्पनीको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै लगानीकर्ता  केशव सुवेदीले लोक्यापको कम्पनीमा लगानी गर्दा  विशेष ध्यान दिनु पर्ने  बताउँछन् ।

यो साता लघुवित्त र व्यापारिक समूहका परिसूचक घटेका छन् ।  लघुवित्त समूहको ३.१३ प्रतिशत र व्यापारिक समूहको ३.४५ प्रतिशत परिसूचक घटेको छ ।यो साता लघुवित्त र व्यापारिक समूहका लगानीकर्ताहरूले नाफा बुक गरेकाले परिसूचक घटेको देखिन्छ ।

धितोपत्र दोस्रो बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ताको प्रवेश भइरहेकाले बजार बढ्न टेवा पुगेको  हो ।  नयाँ सरकार परिवर्तन तथा सहज मौद्रिक नीतिबाट उत्साहित बनेका लगानीकर्ताको मनोबलले बजार बढाएको तर्क कतिपयको छ तर अस्वभाविक रुपमा बढेको बजारमा नाफासँगै नोक्सानी पनि हुन्छ भन्ने बुझेर मात्र लगानी गर्नुपर्ने नेप्सेका प्रवक्त मुराहरि पराजुली बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved