दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सरकार बन्ने चर्चा चलेपछि बढ्न शुरु गरेको शेयर बजार उच्च अंकले बढिरहेको छ ।
विशेषगरी असार १७ गतेदेखि साउन १७ गतेसम्म आइपुग्दा नेपालको पूँजीबजारको इतिहासमै नयाँ रेकर्ड समेत कायम भएको छ। यसबीचमा सरकार परिवर्तनसँगै नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याइदिँदा शेयर बजार झनै उच्च अंकले बढेको छ ।
शेयर बजार बढेपछि देखिएका यस्ता छन् ४ रोचक तथ्य :
१. उक्त अवधि अर्थात् एक महिनाको अवधिमा २४ दिन कारोबार भएको छ ।अझ उक्त अवधिमा शुक्रबार, शनिबार र सार्वजनिक विदा परेकाले शेयर कारोबार भएन । यो बीचमा नेप्से सूचकमा जम्मा ५ पटक मात्र करेक्सन आएको छ ५ पटकको करेक्सनमा नेप्से सूचक ७४.८७ अंकले घटेको छ । अघिल्लो पटकको बूलमा नेप्से सूचक २ हजारको विन्दुबाट नयाँ रेकर्ड राख्ने बेलासम्म करिब चार महिना लागेको थियो । दर्जनौ पटक भारी अंकको करेक्सन आएको थियो ।
२. यो पटक नेप्से सूचक २४ कारोबार दिनमा ७१८.४१ अंकले बढेको छ । २ हजारको विन्दुमा रहेको नेप्से सूचक निकै तिब्र गतिमा अघि बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदासम्म नेप्से सूचक २ हजार ७५५.६२ विन्दुमा छ ।
३. शेयर बजार बढेपछि साउन १७ गतेसम्म आइपुग्दा लगानीकर्ताहरुले १ अर्ब ५८ करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएका छन् । त्यस्तै हालसम्मकै उच्च कारोबार भएको छ । यसअघि हालसममको २१ अर्ब ६४ करोडको रेकर्डलाई तोड्दै हाल २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ ।
४. शेयर बजार बढेपछि एक महिनामा २९ हजारले डिम्याट खाता खोलेका छन् ।सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार औसतमा मासिक करिब ५०० को हाराहारीमा खुल्दै आएको डिम्याट बजार बढेयता तिब्ररुपमा खाता पनि खुल्ने क्रम बढ्दै गएको छ।