शेयर बजारको अस्वभाविक वृद्धिप्रति संसदमा उठ्यो प्रश्न, कम्पनीको नामै लिएर छानविनको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2024 | 04:57:38 PM मा प्रकाशित

पछिल्लो समय शेयर बजारमा भइरहेको वृद्धिलाई लिएर प्रतिनिधि सभामा सांसदहरुले गम्भिर प्रश्न उठाएका छन् ।

सोमबार आकस्मिक समयमा बोल्दै स्वतन्त्र सासंद डा अमरेश कुमार सिंहले चार वटा कम्पनीको नामै किटेर धितोपत्रको दोस्रो बजारमा केहि दिन यता अस्वभाविक कारोबार भएको दाबी गरे । ती कम्पनीको उनले नामनै किटानी गरेर संसद र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘दिपेन्द्र अग्रवाल सम्बद्ध नेपाल फाइनान्स कम्पनीको शेयरमूल्य एकमहिना अघि प्रतिकित्ता ६०० रुपैयाँ रहेकोमा अहिले आएर २ हजार १०० रुपैयाँ कसरी पुग्यो ?’

त्यस्तै उनले एनआरएन इन्फाष्ट्रचर, हाथवे इन्भेष्टमेन्ट कम्पनी,सीडीएन हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी* को अस्वभाविक रुपमा बढेको शेयरमूल्यप्रति पनि प्रश्न उठाएका छन् । उनले भने ‘बुक भ्यालु १०० रुपैयाँ पनि नभएको कम्पनीको शेयरमूल्य कसरी १ हजार ६०० रुपैयाँ पुग्छ, म अर्थमन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सहकारी ठगिबाट अर्बौं  रकम अबौं रकम ठगिएका जनता अब शेयर बजारमा सीमित व्यापारिका कारण फेरि पनि ठगिने अवस्थामा आएको उनले बताए । उनले भने,‘हिजो नियामक निकाय नहुँदा अर्बौं रकम हिनामिना भयो, आज कृत्रिम रुपमा शेयर मूल्य बढाएर सोझासिधा जनतालाई ठग्ने काम भइरहेको छ, यस विषयमा गम्भिर छानविन हुनपर्छ।’

यसैगरी, नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले शेयर बजारमा देखिएको उतारचढाव अस्वाभाविक भएको बताए ।

विशेष समयमा बोल्दै महतले कतिपय कम्पनीको शेयर भाउ अस्वाभाविक रूपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वाभाविक लिन नसकिने बताएका हुन् । उनले पछिल्लो समयमा शेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो कि भन्ने आशंका भएकाले छानबिन गर्नसमेत माग गरे ।

उनले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति र नेपाली कांग्रेस र नेकपा(एमाले) को सरकारका कारण आगामी दिनमा आर्थिक गतिविधि बढ्ने पनि बताए ।

 *उनले सीडीएन हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको शेयरमूल्य अस्वभाविक रुपमा बढाएको बताएता पनि यो कम्पनी नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा कहिं कतै सूचीकृत भएको देखिएन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved