करेक्सनपछि उच्च अंकले लयमा फर्कियो शेयर बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 03:21:54 PM मा प्रकाशित

साताको तेस्रो कारोबार दिन बुधबार नेप्से सूचक उच्च अंकले बढेको छ ।  नेप्से सूचक १०८.३५ अंकले बढेर २ हजार ७५९.३५ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन मंगलबार १४५ अंकले करेक्सन आएको बजारमा यो दिन लगानीकर्ता कारोबारको शुरुवाती समयदेखि नै सम्हालिएका थिए ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा पुगेको छ ।अघिल्लो दिन ठूलो अंक अर्थात् २३ अर्ब ७१ करोडको एतिहासिक कारोबार भएको थियो। 

लगानीकर्ता बीच प्रोफिट बुक गर्ने प्रतिस्पर्धाले यो दिन पनि शेयर बजारमा निकै दबाब देखिएको थियो। अघिल्लो दिनको तुलनामा घटेको  कारोबार रकमले गर्दा  लगानीकर्ताले प्रोफिट बुक गरिसकेको हुँदा नयाँ लगानीकर्ताहरुले भने यो दिन  लगानी बढाएका छन् । यो दिन बिक्रेतादरभन्दा खरिदकर्ता बढी मात्रामा  हाबी भएका छन् ।

यो दिन ३३० वटा कम्पनीको ३ करोड ८० लाख कित्ता शेयर खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ । 

यसैगरी, यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिन्स्योरेन्स  छ । उक्त कम्पनीको १ अर्ब ५३करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।  त्यस्तै सानिमामाई हाइड्रो पावर, शिवम् सिमेन्ट, चिलिमे हाइड्रो पावर कम्पनीको पनि  ५५करोड रुपैयाँदेखि ३५ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

 यो दिन अलग-अलग १४ वटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।जसमा बोटलर्स नेपाल(बालाजु), गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत कम्पनी,डोल्टी पावर कम्पनी,सिटी होटल, हिमालयन रिइन्स्योरेन्स, सेन्ट्रल फाइनान्स,कुथली बुखारी स्मल हाइड्रो पावर र साइन रेसुङ्गा हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

यो दिन नेप्सेमा सूचीकृत सबै अर्थात् १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिशतले बढेको छ। यसैगरी, वित्त उपसमूहको परिसूचक ७.६३ प्रतिशत बढेको छ ।

त्यस्तै होटल  उपसमूहको सूचक ५.१३ प्रतिशतले बढेको छ । त्यस्तै, वाणिज्य बैंक, उत्पादनमूलक, लगानीगत, माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।

आजको बजार वृद्धि बारे नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले बजार करेक्सन हुँदै अघि बढ्ने प्रयासमा रहेको हुँदा करेक्सन आउँदैमा धेरै आत्तिनुपर्ने अवस्था नभएको बताइन् । उनले भनिन्,‘ बजारमा करेक्सन आउँदैमा सबै सकियो भन्ने हुँदैन, यो  बजार बलियो बन्नका लागि हो भन्ने बुझ्न पर्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved