नेकपा(एमाले) का सांसद सूर्यबहादुर थापाले धितोपत्र बजारको दोस्रो बजारमा शेयर कारोबार भइरहेको समयमा अर्थ समितिले बैठक बोलाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार बिहान ११ बजे अर्थ समितिको बैठकमा उनले शेयर कारोबार भइरहेको समयमा पूँजीबजार केन्द्रित बैठक राखिनु कत्तिको जायज हो भनेर प्रश्न पनि गरेका छन् । बैठकमा नेपालको पूँजीबजार सम्बन्धी समसामयिक विषयमा अहिले धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डसँग छलफल भइरहेको छ ।
बैठकमा अर्थमितिका सभापति सन्तोष चालिसेले भने पूँजीबजारको हितकै लागि बैठक राखेकाले अन्यथा लिन नहुने जवाफ दिएका छन् ।
यसअघि प्रतिनिधिसभा बैठक विशेष समय लिंदै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शेयरबजारमा विभिन्न कम्पनीको शेयरमूल्यमा चलखेल गरेर अस्वभाविक वृद्धि गरिएको भन्दै छानबिन गर्न माग गरेका थिए ।
त्यस्तै पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पनि अहिलेको शेयर बजारको वृद्धि अस्वभाविक भएको टिप्पणी गरेका थिए । समितिले सोही विषयलाई लिएर धितोपत्र बोर्डसँग छलफल गरेको हो ।