नेपालको पूँजीबजार सम्बन्धी समसामयिक विषयमा अर्थसमितिमा धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डका पदाधिकारी सम्मिलित बिहीबारको बैठक चलिरहेको छ।
बैठकमा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले चन्द्रागिरि हिल्स कम्पनीको बुक भ्यालु कम भएको अवस्थामा पनि यसको शेयरमूल्य प्रतिकित्ता १ हजार २०० रुपैयाँसम्म कसरी पुग्यो भन्दै प्रश्न गरेका छन् ।
यसैगरी, सांसद नारायणी शर्माले अहिलेसम्म धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसक्नुको कारण के हो भन्दै प्रश्न गरिन। ।उनले तीन वटा सरकार फेरिदा पनि अध्यक्ष नियुक्त हुन नसक्नुको विषयम सरकारले स्पष्ट जवाफ दिनु पर्ने बताइन् । त्यस्तै उनले धितोपत्र बजारको दोस्रो बजारमा साना लगानीकर्ताहरुलाई कसरी जोगाउने,शेयर बजार कहिले बढ्दै नबढ्ने, कहिले भने अपत्यारिलो ढंगले बढ्नुको कारण के हो?, शेयर बजार कसले चलाएको छ भन्दै प्रतिप्रश्न पनि गरिन् ।
त्यस्तै सासंद छिरिङ लामाले अघिल्लो सरकारको समयमा दिनप्रतिदिन बजार घट्ने तर अहिले सरकार फेरिने बित्तिकै सगरमाथा नै छुने गरि बजार कसरी बढ्यो ? रातरात यो सरकारले के चमत्कार गरेको छ र शेयर बजार बढेको हो भन्दै प्रश्न गरेका छन् ।
त्यसैगरी, सांसद जुलिकुमारी महतोले धितोपत्र बोर्डले लामो समयदेखि पाइपलाइनमा रहेका विभिन्न कम्पनीका आपीओलाई निष्कासन गर्ने अनुमती नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।उनले भनिन्,‘शेयर बजारमा सिन्डिकेट छ,केही सीमित व्यक्तिले शेयर किन्ने र बेच्ने अनि बजार घटाउनै लागि हल्ला फिजाउने ।यस कुराले साना लगानीकर्ताहरु कसरी सुरछित हुन सक्छन् ?’
उनले बाग्मती, कोशी,लुम्बिनी प्रदेशका लगानीकर्ताहरु शेयर कारोबारमा सक्रिय हुने तर कर्णाली,सुदूरपश्चिम र मधेस प्रदेशमा किन कम ? यो सिन्डिकेट होइन त भनिन् ।
यसैगरी, सांसद सूर्यबहादुर थापाले हाम्रो शेयर बजार कसैले हल्ला गर्दैमा घटिहाल्ने खालको भएको भन्दै पूँजीबजार कमजोर हुनुको कारण खोज्नु पर्ने बताए ।उनले भने, ‘बोल्दैमा शेयर बजार घट्न हुन्छ कि हुँदैन, किन ३ हजार २०० विन्दुबाट बजार घटेर १ हजार ८०० विन्दुमा आइपुग्दा कोहि बोलेको सुनिएन ? मलाई यसको जवाफ चाहिन्छ।’
साथै ऐनमा भएको स्पष्ट व्यवस्थालाई नियमावलीको व्यवस्थाले विस्थापित गर्न मिल्छ भन्ने प्रश्न गर्दै उनले ऐनमा तीन वर्ष नाफामा रहेका कम्पनीलाई आईपीओ निस्कासन गर्न दिने व्यवस्थालाई बेवास्ता गरेर नियमावलीमा भएको दुई वर्षमा नाफामा गएको हुनुपर्छ ऐनलाई टेकेर अनुमति दिन मिल्छ भन्दै थप प्रश्न गरे ।
सासंद अमर रायमाझीले एउटा मान्छेले बोल्दैमा लागानीकर्ताको सम्पती २ खर्ब रुपैयाँ घट्न् चानचुने विषय नभएको बताए ।
त्यस्तै, सांसद गंगा कार्कीले शेयर बजार जोखिमको क्षेत्र भएकोले यसलाई किन आतंकित बनाउन खोजिएको हो भन्ने प्रश्न गर्दै शेयरबजार सीमित व्यक्तिको हातमा पुगेको छ भन्ने गुनासो आएकाले यसलाई सन्तुलनमा राख्नु पर्ने बताए ।