पूर्ववर्ती सरकारका दुई जना अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रलाई सामुहिक रुपमा अगाडि लैजानु पर्ने उत्तिकै दायित्व रहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नरले अघिल्ला सरकारलाई जानाजान असहयोग गरेको बताएका छन् ।
नेपालको पूँजीबजार सम्बन्धी समसामयिक विषयमा बिहीबार धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डका पदाधिकारीको सहभागितामा आयोजित अर्थसमितिको बैठकमा उनीहरुले यस्तो बताएका हुन् ।
यस्तो बोल्नेमा निवर्तमान अर्थमन्त्री बर्षमान पुन र डा प्रकाशशरण महत हुन् । उनीहरुले गभर्नर महाप्रसाद अधिकारीले नेकपा(एमाले) को सरकारको नेतृत्वमा नयाँ सरकार आएपछि मौद्रिक नीति खुकुलो पारिदिएको बताए ।
पूर्वअर्थमन्त्री पुनले शेयर बजार बढ्नु खुशीको कुरा भएको बताए । ‘खुशीको कुरा शेयर बजार बढेको छ । घट्दा चिन्ता थियो । बढ्ने कारण छ । शेयर बजार २ हजार विन्दुभन्दा मुनि थियो,’ उनले भने ,‘अहिले मौद्रिक नीतिले सहज गरिदिएको छ । यस पटक वित्त र मौद्रिक नीतिको तालमेल मिलेको छ । यसै कारण बजार बढेको छ ।’
उनले घाटामा भएका भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न दिएर मूल्य अस्वभाविक रुपमा बढेकोले यसलाई नियमन गर्नु पर्ने बताए ।
उनले नेपाली काँग्रेसको सरकार र नेकपा(माओवादी) को सरकार हुँदा कसिलो मौद्रिक नीति ल्याउने गभर्नर अहिले नेकपा(एमाले) को सरकार आउने वित्तीकै सहज नीति ल्याउन तत्पर भएको देख्दा आश्चर्य लागेको बताए । उनले भने, ‘नकारात्मक नसोचौं तर जनताको प्रतिनिधि भएपछी बोल्नै पर्छ तर अहिलेको सरकार आएपछी नयाँ र लचिलो नीति ल्याइयो।’
संस्थागत लगानीकर्ता २० करोड रुपैयाँको क्याप घटाउन आफूले गभर्नरलाई पहिले नै अनुरोध गरेको तर गभर्नरले नटेरेको बताए। उनले भने,‘मभन्दा अघिको अर्थमन्त्रीले पनि शेयर कर्जा सिमा हटाउने प्रयास गर्नुभएको थियो तर अहिले नेकपा(एमाले) को सरकार आएपपछि हट्यो,ठिक भयो, राम्रो भयो।’
त्यस्तै उनले धितोपत्र बोर्डको अध्यक्षमा छनोटमा ठूलो चलखेल भएको पनि खुलासा गरे । उनले भने, ‘नयाँ स्टकको लाइसेन्समा सबैको धेरै चासो छ,अहिलेको ठूलो दलले लाइसेन्स दिन्छ भने दिओस हामी केहि भन्दैनौ तर भोलि अध्यक्ष छनोट कसरी हुन्छ ? प्राइभेट र सरकारी स्टक बीच प्रतिस्पर्धा हेर्न बाँकी छ, भोलिका दिनमा धितोपत्र बजारमा झनै ठूलो संकट आउने देख्छु।’
सोही समितिमा पूर्वअर्थमन्त्री महतले पनि मौद्रिक नीति लचक ल्याउन अनुरोध गरेको तर गभर्नरले कुनै तत्परता नदेखाएको बताएका थिए ।