साताको शेयर समीक्षा : बजारबाट कहाँ गयो पैसा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2024 | 04:58:46 PM मा प्रकाशित

laxmi  sunrise bank

यो साता पनि बजारले लगानीकर्तालाई अन्योल बनाएको छ ।गत साताबाट निरन्तर ओरालो झर्न थालेको बजारले यो साता पनि निरन्तर ओरालो यात्रानै तय गरेको छ ।

यो साता शेयर बजारमा पाँच दिन भएको कारोबारमा बजार चार दिन घट्यो भने एक दिन मात्रै बढेको छ ।साताभरिमा नेप्से परिसूचक ३८.८३ अंकले घटेको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार ७२७.३६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८८.५३ विन्दुमा बन्द भएको छ । समग्रमा यो साता बजार ३८.८३ अंकले घटेको छ तर अघिल्लो साता भने बजार २२.२५ अंकले घटेको थियो ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार बजार केहि बढेकाले ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ तर अघिल्लो साता भने ५९ अर्ब ७७  करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

बजारमा लगातार चार कारोबार दिन नै नेप्से घटेकाले कारोबार पनि घट्न गएको हो । त्यसैगरी, घटेको बजारले गर्दा यो साताको बजार पूँजीकरण  ४२.७४ खर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो साता भने बजार पू्ँजीकरण ४३ खर्ब ३६ अर्ब रुपैयाँ थियो । सातामा नेप्से घटेकै कारण बजार पूँजीकरण पनि ६२ अर्बले बजार घटेको छ । साताभर नेप्से घटेकाले बजार पूँजीकरण र कारोबार दुबै घटेका हुन् ।

नेप्सेको बजार ट्रेण्डलाई हेर्दा वियरिस यात्रा जस्तो देखिन्छ । कारोबार तथा भोल्युम भने घट्दै गएको अवस्था छ । गत साउन ३१ गते धितोपत्र बजारमा बजारमा हालसम्मकै उच्च रकमको कारोबारले रेकड बनाएको थियो । उक्त कारोबार दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो । भदौ २ गतेको पहिलो कारोबार दिन भने २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछिका कुनै पनि दिन कारोबार रकम २० अर्ब रुपैयाँभन्दा माथि जान सकेको छैन ।

त्यसयता बजारको परिसूचक नेप्से घट्दै गयो र कारोबार रकम पनि ओरालो लाग्दै अहिले ८ अर्ब रुपैयाँको हाराहारीमा आइपुगेको छ । लगभग ३० दिनको अवधिमा कारोबार मात्रै एकतिहाइभन्दा कममा खुम्चिएपछि कतिपय लगानीकर्ता आत्तिएका छन् । उनीहरु बजारबाट ठूलो रकम बाहिरिएको अनुमान गर्छन् ।

लगानीकर्ता केशव सुवेदी बजारमा उतारचढावका बीच लगातार तल बजार झरेको बताउँछन् । यही कारण आत्तिएर साना तथा मझौला लगानीकर्ताले नोक्सानी सहेरै शेयर बेच्न थालेका छन् ।

उनका अनुसार अकस्मात बजारमा ठूलो रकम भित्रियो तर बजारमा  करेक्सन नभइकन नै बजारको परिसूचक बढ्दै गयो । जसले गर्दा बजारको गिरावटमा निरन्तरता भएपछि लगानीकर्ता आत्तिए ।

उता धितोपत्र बजारका विश्लेषकहरु भने घट्दो ट्रेण्डले वियरिस बजारको संकेत चाहिं भन्न नमिल्ने बताउँछन् । उनीहरुका अनुसार अहिलेको बजारको घट्दो माहोलले लगानीकर्तालाई थप परिपक्व हुन मद्धत गरेको र दशैंको माहोल पनि शुरु हुन लागेकाले बजारले लय समात्ने आशा र अपेक्षा गर्न सकिन्छ ।बजार बढ्नका लागि खरिदकर्ताको मनोबल उच्च हुनुपर्छ ।

यो साता सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य २०.७५ प्रतिशतले बढेको छ भने दोस्रोमा मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २०.२१ प्रतिशतले बढेको छ। तेस्रोमा इमर्जिङ नेपाल छ । कम्पनीको शेयरमूल्य १८.७२ प्रतिशतले बढेको छ। 

यो साता एचआईडीसीएलको शेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २५ लाख ९३ हजार ७९ कित्ता शेयर ४३ करोड ७० लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।त्यस्तै, दोस्रो सर्वाधिक खरिद भएको शेयरमा गुडविल फाइनान्स छ। उक्त कम्पनीको ३ लाख ८३ हजार १२२ कित्ता शेयर ४२ करोड ७८ लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। त्यस्तै सीईडीबी हाइड्रोपावरको १ लाख ९९ हजार ६३० कित्ता शेयर ४२ करोड ३८ लाख ६७ हजार २०४ रुपैयाँमा खरिदबिक्री भएको छ।

साताको अन्तिम कारोबार दिन करेक्सन पछि बजार २ हजार ६०० विन्दुबाट फर्किएको प्रावधिक विश्लेषकहरु बताउँछन् ।   यसोत पछिल्लो केहि समययता सरकार र नियामक निकायहरू शेयर बजार सुधारप्रति प्रतिबद्ध छन् ।

नेपाल राष्ट्र बैंकले पछिल्ला दिनहरूमा क्रमशः खुकुलो नीति लिंदै गएको देखिन्छ । बैंकहरुले लगानी बढाउन सक्ने गरी पुनः नीतिहरू परिमार्जन भएका छन् । यसले गर्दा बजारमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved