शेयर लगानीकर्तासंग सम्बन्धित चारवटा संघले प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युबराज खतिवडालाई भेटेर दश बुँदे सुझाबपत्र बुझाएका छन्।
नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दिपक कार्की, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरेको समुहले खतिवडालाई भेटेर सुझावपत्र बुझाएको हो।
खतिवडालाई बुझाएको सुझावपत्रमा पूँजीबजारमा तत्काल तथा दिर्घकालमा गर्नुपर्ने कामहरु समेटिएको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बिजपाटीलाई बताए। पाण्डेकाअनुसार अर्थमन्त्री तथा गभर्नर समेत भईसकेका खतिवडाले दश बुँदे सुझावलाई कार्यन्वयनमा लैजानको लागि विशेष पहल गर्ने आश्वासन दिएका छन्।
सुझावपत्रमा ब्रोकरमार्फत मार्जिन लेन्डिंग कार्यान्वयनमा नआउँदासम्म व्यक्तिगत शेयर कर्जाको १५ करोडको सिमा हटाउनुपर्ने, अहिलेको जोखिम भार १२५ लाइ घटेर १०० मा झार्नुपर्ने, धितोपत्र बोर्डमा तत्कालै अध्यक्ष नियुक्ति गर्नुपर्ने, बाफिया ऐनको संसोधन तत्काल रोक्नुपर्ने ,डिपी चार्ज खारेज गर्नुपर्ने, गैरआवासीय नेपालीलाई विनासर्त शेयर बजारमा लगानी गर्न दिनुपर्ने लगायतका सुझाव समावेश गरिएको छ।