साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेको छ ।यो दिन बजार ५०.७३ अंकले घटेर २ हजार ६३७.७९ विन्दुमा आइपुगेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार बजार बढेपनि यो दिन भने घट्ने क्रमले निरन्तरता दिएको छ। यो दिन बजार घटेसँगै कारोबार भने बढेको छ । यो दिन ३२४ वटा कम्पनीको २करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।गत साताको अन्तिम कारोबार दिन बिहीबार बजार केहि बढेकाले ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ७.८१अंकले घटेर ४६८.६५ विन्दुमा पुगेको छ।
यसअघि ३ हजार विन्दुभन्दा माथि पुगेको बजार केहि समययता अस्थिर छ भने बजार र कारोबार दुबैले लगातार ओरालो यात्रा तय गरिरहेका छन् । अघिल्लो साताको पहिलो कारोबार देखि नै बजारमा अन्योल देखिएपनि अन्तिम दिन बिहीबार भने बजार बढेको थियो ।
साताको पहिलो कारोबार दिन आइतबार बजार बढ्ने आशा गरेका लगानीकर्ता पहिलो दिननै दोहोरो अंकले बजारमा गिरावट भएपनि झन निराश बन्न पुगेका छन् ।
हालसम्ममा बजार यो अवधिमा बजार झन्डै ठूलो अंकका साथ घटिसकेको छ । ३ हजार विन्दुको मनोवैज्ञानिक विन्दुबाट माथि जाने आकलन गरेका लगानीकर्ताहरु बजार र कारोबार निरन्तर घट्दै गएपछि थप अन्योलमा छन् ।
यो दिन २१७ वटा कम्पनीको मूल्य घटेको छ भने २५ वटा कम्पनीको मूल्य बढेको छ । २ वटा कम्पनीको मूल्य भने स्थिर छ । दिनभरको उताचढावका बीच शेयर बजार घटेर बन्द भएको छ ।
यस दिन चार ओटा अलग अलग कमपनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिभरफल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी र इष्टर्न हाइड्रोपावर कम्पनी छन् ।
त्यस्तै यो दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने बलेफि हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यसैगरी, यो दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा शिर्षस्थानमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ। उक्त कम्पनीको ६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यसैगरी, नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचकहरु यो दिन घटेका छन् । जसमा सबैभन्दा बढी होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.६३ प्रतिशतले घटेको छ।
त्यस्तै, वित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशतले घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीका दरले घटेका छन् ।
झण्डै एकमहिना यता बजार घट्दो क्रममा छ । गत बिहीबार बजार केहि बढेकाले लगानीकर्ताले करेक्सन सकिएको अनुमान गरेता पनि आइतबार बजार फेरि घटेकाले लगानीकर्ता बिक्रीचापलाई ध्यानमा राख्दै अझै पर्ख र हेरको अवस्थामा देखिएको लगानीकर्ता केशव सुवेदी बताउँछन् ।
उनका अनुसार बजार घटेता पनि लगानीकर्ताले कारोबारमा उत्सुकता देखाएको आगामी दिनमा बजार अझै करेक्सन भएर अगाडि बढ्ने सम्भाबना छ ।