भिजन सेक्युरिटिज् प्रालि (स्टक ब्रोकर नं ३४) ले पोखरामा गत शनिबार लगानीर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख बिना ढकाल पौडेलको प्रमुख आतिथ्यता थियो ।
उक्त कार्यक्रममा विशिष्ठ अतिथिमा पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्ले, शेयर वजार विज्ञ/विष्लेशक सुवास चन्द्र भट्टराई, सिद्धार्थ क्यापिटलका लगानी अनुसन्धान प्रमुख निराजन कार्की, इन्भेष्टर फोरम गण्डकी प्रदेशका अध्यक्ष अजुन कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
सो अवसरमा कम्पनीका अध्यक्ष तिमिल्सिनाले दोश्रो वजारमा कारोबार गर्नको लागि आवश्यक प्रक्रिया, अनलाईन कारोबार, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोबार सम्वन्धी व्यवस्थालगायतका विषयहरुमा प्रष्ट पारेका थिए ।
यसैगरि, शेयर वजार विज्ञ÷विष्लेशक भट्टराइले दोश्रो वजारमा कारोबार गर्दा लगानीकर्ताले के–कस्ता गल्तिहरु गर्दछन्, के–के विषयमा ध्यान पुर्याउनु पर्दछ, कम्पनी छनोट लगायतका विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका नेपाल राष्ट्र वैंकको गण्डकी प्रदेश प्रमुख बिना ढकाल पौडेलले पूँजीबजारमा युवावर्गको उपस्थिती,नेपाल राष्ट्र बैकंको सर्कुलर, बैंकहरुले गरेको व्याजदरको निर्णय जस्ता विषयहरु पूँजीबजारको लागि सकारात्मक पक्ष रहेको बताइन् ।
उनले देशमा तरलता सहज भएको, आर्थिक मन्दीमा कमी ल्याउन पनि सर्वसाधरण जनताको लगानी जरुरी रहेको बताइन् । त्यस्तै पोखरा ट्रेडमलका अध्यक्ष मिन प्रसाद काफ्लेले लगानीकर्ताहरुले शेयरको दोश्रो वजारमा लगानी गर्दा बुझेर मात्र लगानी गर्नुपर्ने बताए ।
त्यस्तै इन्भेष्टर फोरम गण्डकी प्रदेशका अध्यक्ष अर्जुन बहादुर श्रेष्ठले बजारमा लगानीकर्ताहरुलाई घाटा नभइ कमाइ नहुने र घाटा भएपछि मात्रा बुझेर लाग्ने गरेको देखिन आएको बताए ।
कम्पनीले धितोपत्र कारोबारको विकास तथा विस्तारको लागि उपत्यका वाहिर नौ वटा तथा उपत्यका भित्र तीन वटा गरी जम्मा १२ स्थानमा शाखाहरु विस्तार गरि सेवा प्रवाह गरिरहेको बताएको बताएको छ ।कार्यक्रममा व्यवसायी, लगानीकर्ता, शिक्षक, विद्याथीहरु गरी लगभग २७० जनाको उपस्थिति थियो ।