अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार आकस्मिक रुपमा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को स्थलगत निरीक्षण गरेका छन् ।
बढेको बजार लगातार घट्दै गएपछि चिन्ताको महसुस गरेका भनिएका अर्थमन्त्रीले त्यहाँ केहि समय बसेर३ हजार विन्दुसम्म पुगेको बजार लगातार घटेर २ हजार ५८० विन्दुमा कसरी झर्यो भनेर बजार नियामकका प्रमुखसँग प्रश्न गरेका छन् ।
उनले त्यहाँ करिब ३० मिनेट बसेर बजार नियामकका प्रमुखलाई साथमा राखेर यस्तै प्रश्न सोधेका थिए । करिब पौने ३ बजे अर्थमन्त्रीसहितको प्रतिनिधिमण्डल कुनै पूर्व निर्धारित कार्यक्रम बिना त्यहाँ पुगेको थियो । यसलाई कतिपयले आकस्मिक रुपमा अर्थमन्त्री त्यहाँ पुग्नुलाई लगानीकर्ताको घट्दो मनोबल उकास्ने रणनीति भनेका छन् ।
उनले भने,‘३ हजार विन्दुमा पुगेको नेप्से अहिले फेरि किन घटेर २ हजार ५०० मा झर्यो। म जवाफ खोज्न आएको हो ।’ साथै उनले बजार बढ्दा ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम समेत घटेर ५ अर्बमा झरेकोमा समेत चिन्ता व्यक्त गरे ।
उनले भने, ‘देशको अर्थतन्त्र र प्रमुख सूचकहरु सबै सकारात्मक हुँदाहुँदै बजार यसरी घटाइनु प्राकृतिक छैन । यसमा सरकारले छानबिन गर्नेछ ।’ अर्थमन्त्री पौडेलले शेयर बजारका बारेमा सामाजिक सञ्जालहरुमा फैलाइने अफवाहका विषयमा नियामकहरुले निगरानी बढाउनुपर्ने बताए।
सरकार पूँजीबजारको दिगो विकासको पक्षमा रहेको भन्दै उनले अब आवश्यक कदम चाल्न ढिला गर्न नहुने समेत बताए। पौडेलले बजारमा हुने इन्साइर ट्रेडिङ, कर्नरिङ लगायतका गलत क्रियाकलापलाई समेत नेप्सेले निगरानी गर्नुपर्ने पनि बताएका छन्।