साताको दोस्रो कारोबार दिन सोमबार बजार दोहोरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ४४.४५ अंकले बढेर २ हजार ५०८.८६ विन्दुमा पुगेको छ ।
यसअघि शेयर बजार घटेर २ हजार ४०० विन्दुको लाइनमा पुगेको थियो तर यो दिन फेरि बजारले अगाडि बढ्ने संकेत देखाएको छ । दिनभर बजारमा तिब्ररुपमा उतारचढाव देखिएता पनि अन्तिम समयमा आएर बजार फेरि २ हजार ५०० विन्दुको लाइनमा अगाडि बढेको छ । बजारमा गतिलो बाउन्स ब्याक भएको देखिएता पनि कारोबारमा भने सुधार आउन सकेको छैन । कारोबार भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार भने बजार दोहोरो अंकले घटेर २ हजार ४६४.४० बन्द भएको थियो । यो दिन ३१९ वटा कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड माथिको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन आइतबार भने ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ६.४५ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेको छ।यो दिन लगानीकर्ता सिमेन्ट कम्पनीमा ओइरिएका छन् ।
दशैंतिहार लगत्तै निर्माण क्षेत्र चलायमान हुने आकलनका कारण लगानीकर्ता यस क्षेत्रमा मोडिएका हुन् । बाढीपहिरोले क्षति पुर्याएका संरचना निर्माणका लागि सिमेन्टको माग बढ्ने भएकाले यो दिन यस क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको हो । अघिल्लो कारोबार दिन पनि सिमेन्ट कम्पनीको शेयरमूल्य बढेको थियो ।
यो दिन २१० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक वटा कम्पनीको मूल्य भने स्थिर छ ।
यस दिन सीईडीबी हाइड्रोपाव र कुमारी सबल योजनाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी,युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ९.५८ प्रतिशतले बढेको छ ।
त्यस्तै सर्वोत्तम सिमेन्टसको शेयरमूल्य पनि ९.४७ प्रतिशतले बढेको छ । त्यस्तै सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्यमा ९.११ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ९.३६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यो दिन शिर्षस्थानमा सीईडीबी हाइड्रोपावर छ । उक्त कम्पनीको करिब १७ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यसैगरी, दोस्रो स्थानमा सर्वोत्तम सिमेन्टस छ। उक्त कम्पनीको १७ करोड १५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, शिवम सिमेन्टको १५ करोड ३३ लाख रुपैयाँ माथिको शेयर खरिदबिक्री भएको छ।
यसैगरी, यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमूहमा हरियाली छाएको छ ।यो दिन सबैभन्दा बढी वित्त उपसमूह ४.१९प्रतिशतले बढेको छ ।
त्यस्तै दोस्रोमा उत्पादन तथा प्रोसेसिङ उपसमूह ३.८३ प्रतिशतले बढेको छ ।त्यसैगरी, होटल्स एण्ड टुरिजम उपसमूह ३.२८ प्रतिशतले बढेको छ ।