नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले लगानीकर्तामैत्री नहुनेप्रती कठोर हुने सन्देश दिएका छन्। स्टक ब्रोकर एसोसिएसनको बार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो सन्देश दिएका हुन्।
शेयर बजारका सबै सरोकारवालाहरु शेयर लगानीकर्तामैत्री हुनुपर्ने भन्दै अध्यक्ष श्रेष्ठले लगानीकर्ताको अहित हुने काम गर्ने जो कोहिलाई माफ दिन नसकिने बताए।
उनले भने, "हामि सबैको साझा उदेश्य शेयर बजारलाई लगानीकर्तामैत्री बनाउने नै हो, यसमा जसले पनि गलत गर्छ, त्यसलाई माफ दिन सकिन्न"
शेयर बजारमा म्यानुपुलेशन गर्ने, कर्नरिंग गर्ने, इनसाइडर वा सर्कुलर ट्रेडिंग गर्ने जो कोहिलाई पनि कडा भन्दा कडा कारबाही गर्ने बताउदै अध्यक्ष श्रेष्ठले स्टक ब्रोकरहरुलाई शेयर लगानीकर्ताको शेयर किनबेचको पैसा समयमा नै राफसाफ गर्नलाई निर्देशन दिए।
शुभकामना तथा बधाई दिन स्टक ब्रोकरको कार्यक्रम पुगेका नरम स्वभावका श्रेष्ठबाट यस प्रकारको अभिव्यक्ति आउनुलाई शेयरका सरोकारवालाहरुले सकारात्मक लिएका छन्।
कार्यक्रममा उपस्थित एक नयाँ ब्रोकर सदस्यले भने, "उहाँ हेर्दा मात्रै नरम स्वभावको हुनुहुँदो रहेछ, तर कठोर हुने संकेत गर्नु भएको छ। बजार साच्चिकै धेरै नै गलत दिशामा गैसकेको छ, थोरै बालेन शैली चाहिन्छ"
पछिल्लो समय नेपालको शेयरबजार खुल्लमखुल्ला रुपमा म्यानुपुलेशन, कर्नरिंग, र सर्कुलर ट्रेडिंगको काम भईरहेको छ। स्टक ब्रोकर, पोषित संचार माध्यम, केहि सो घोषित विज्ञ तथा विश्लेषक मिलेर अहिले बजारलाई आफु अनुकुल चलाउने प्रयास भईरहेका छन्।
पछिल्लो एघार महिनादेखि धितोपत्र बोर्ड अध्यक्ष बिहिन हुँदा शेयर बजारमा बेतिथी बढेको छ। नवनियुक्त अध्यक्षको यस प्रकारको अभिव्यक्तिले शेयरबजारका लगानीकर्ताका हक अधिकार तथा लगानी सुरक्षित हुने अपेक्षा गरिएको छ।