नेप्सेको सीईओ नियुक्तिमा सेटिङको आशंका, बीमा प्राधिकरणकै हालत दोहोरिने खतरा!

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2025 | 10:40:49 PM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियामा सेटिङको आशंका गरिएको छ। योग्यताभन्दा निकटताको आधारमा सीईओ नियुक्त गर्ने प्रयास भइरहेको भन्दै कतिपय पक्षले आपत्ति जनाएका छन्। 

यदि ऐन विपरीत नियुक्ति गरिएमा नेपाल बीमा प्राधिकरणमा देखिएको अवस्थासँग मिल्दोजुल्दो परिणाम आउन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

सीईओ छनोटका लागि अन्तिम सूचीमा परेका पाँच जना उम्मेदवारमध्ये धेरैको योग्यता धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ (क) अनुरूप नभएको दाबी गरिएको छ। योग्यतासँग मेल नखाने उम्मेदवारलाई नियुक्त गर्न खोजिएको भन्दै नेप्सेको नेतृत्व चयन प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ। 

यसले ऐन विपरीत हुने गरी नियुक्ति भएमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको झैं उजुरी पर्न  सक्ने संकेत समेत देखिएको छ।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड २०७३ विपरीत हुने गरी नियुक्त गरिएको भन्दै ओझा विरुद्द उजुरी परेको हो। बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि नक्कली प्रमाणपत्र देखाएर नियुक्ति पाएको आरोप छ।  नेप्सेको नियुक्ति प्रक्रियामा पनि यस्तै अनियमितता देखिएमा नियामक निकाय कमजोर हुने तथा कानुनी कारबाहीको माग उठ्ने विश्लेषण गरिएको छ। 

पछिल्लो समय सेटिङमा नियुक्ति हुने क्रम बढेपछि नियमनकारी संस्थाहरूको नेतृत्वमाथि नै प्रश्न उठ्ने स्थिति बनेको छ। सम्बन्धित निकायहरू नै ऐनको उल्लंघन गरी नियुक्ति गर्न लाग्दा नियमनमा रहने संस्थाहरूमा अराजकता बढ्दै गएको विश्लेषण गरिएको छ। 

यदि नेप्सेको सीईओ नियुक्ति योग्यताका आधारमा नभई प्रभाव र सेटिङका आधारमा भएमा वीमा प्राधिकरणको हविगत दोहोरिने मात्र नभई नियामकीय कमजोर व्यवस्थापनलाई लिएर लगानीकर्ताहरूको विश्वास खस्कने जोखिम बढ्ने देखिन्छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाअन्तर्गत बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भएको छ। सर्टलिस्ट भएका पाँचै उम्मेदवार चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अर्थ मन्त्रालय पुगेर अन्तर्वार्ता दिएका छन्। 

उम्मेदवारहरूले नेप्सेको भावी सञ्चालन, सुधार योजनाहरू, सेयर बजारको प्रवर्द्धन तथा लगानीकर्ताहरूको हित संरक्षण सम्बन्धी आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। अब सिफारिस समितिले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकन गर्दै तीन जनाको नाम मन्त्रिपरिषद्को अनुमोदनका लागि सिफारिस गर्नेछ। अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ, जसले तीन जनामध्ये एक जनालाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्नेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved