साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ। सोमबारको सकारात्मक वृद्धि एक दिन पनि टिक्न नसक्दै बजार फेरि भारी गिरावटसहित बन्द भएको हो।
आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा आएर थामिएको छ। बजार खुला भएसँगै निरन्तर ओरालो लाग्दै कारोबार अवधिभरै नेगेटिभ ट्रेन्ड कायम रहँदा लगानीकर्ताको मनोबलमा समेत असर परेको देखिन्छ।
बजार घटे पनि कारोबार रकम भने केही बढेको छ। आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से अनुसार आज जम्मा ४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको हो भने २४० वटा कम्पनीको मूल्य घटेको छ। आजको दिन सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ। सो कम्पनीको मात्र २३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो, जसले कुल कारोबारमा ठुलो हिस्सा ओगटेको देखिन्छ।