
विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक शेयर (एफपीओ) आइतबार बाँडफाँट हुने भएको छ । आइतबार बिहान ८ः३० बजे बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको ठमेलस्थित कार्यालयमा एफपीओ बाँडफाँट प्रक्रिया हुने जानकारी गराइएको हो ।
विन नेपाल लघुवित्तको एफपीओमा अत्याधिक आवेदन परेको छ । मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेकोले बाँडफाँट गोलाप्रथाबाट हुने तय भएको छ । कम्पनीको एफपीओमा १९ लाख ७४ हजार ७०९ आवेदकले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । तर, कुल ५ हजार १२९ जनाले मात्र शेयर हात पार्नेछन् भने बाँकी १९ लाख ६९ हजार ५८० जना लगानीकर्ताको हात खाली हुनेछ ।
कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ दरमा ५१ हजार २९२।५० कित्ता एफपीओ जारी गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार सर्वसाधारणको स्वामित्वमा ३० प्रतिशत पुँजी संरचना कायम गर्न कम्पनीले एफपीओ निष्काशन गरेको हो ।
उक्त एफपीओको क्रेडिट रेटिङ भने कमजोर रहेको छ । केयर नेपालले एफपीओलाई ‘एनपी सिंगल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले लघुवित्तले आफ्नो वित्तीय दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म कायम रहनेछ ।