
एनआईसी एशिया क्यापिटल लिमिटेड र पैचो पसल प्रा.लि. बीच भविष्यमा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत कम्पनीको स्थापना कालदेखि प्राथमिक शेयर निष्काशन सम्मका सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। सोही सेवाअन्तर्गत सुख्खानगर, बुटवल, रुपन्देहीस्थित पैचो पसल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी सर्वसाधारणमा शेयर निष्काशन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सम्झौता भएको हो।
पैचो पसल प्रा.लि. कृषि व्यवसायमा केन्द्रित कम्पनी हो, जसले उच्च पहाडी क्षेत्रमा उत्पादन भएको तरकारी र अन्य कृषिजन्य उत्पादनलाई उपभोक्तासम्म पुर्याउने कार्य गर्दै आएको छ। कम्पनीले केचप, अचार, जाम लगायतका खाद्य वस्तुहरूको उत्पादन र प्याकेजिङ गर्दै आइरहेको छ। साथै, पैचो पसलले बीउ उत्पादनदेखि बजारसम्म किसानसँग सहकार्य गर्दै ग्रामीण भेगका समुदायको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान दिँदै आएको छ।
कम्पनीले आगामी दिनमा सर्वसाधारणमा शेयर निष्काशन गरी व्यवसाय विस्तार र वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। नेपालमा कृषि क्षेत्रमा आधा भन्दा बढी जनसंख्या संलग्न भए तापनि कुल गार्हस्थ उत्पादनमा यसको योगदान न्यून रहेको अवस्थामा, पैचो पसलजस्ता कम्पनीलाई प्राथमिकता दिइ दीर्घकालीन र दिगो विकासको ढोका खोल्नुपर्ने आवश्यकता देखिएको छ।
एनआईसी एशिया क्यापिटललेलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्दै शेयर निष्काशनसम्मको सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने बताएको छ। सेवा लिन इच्छुक कम्पनीहरूले प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीसँग सोझै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।