मौद्रिक नीतिले घरजग्गा कारोबारलाई कसिलो बनाएपछि घरजग्गा कारोबारी तथा आवास विकासकर्ताहरु तनावमा छन् । एकातिर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई अनुत्पादक क्षेत्रका रुपमा निरन्तरता दिईएको छ भने अर्कोतिर कर्जा सुरक्षण अनुपात समेत घटाइँदा व्यवसायीहरु चिन्तित मात्रै होइन, डुब्ने खतरामा पुगिएको गुनासो गर्न थालेका छन् ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत घरजग्गा धितो राखेर पाईने कर्जामा कडाई गरिदियो । काठमाडौँ उपत्यकाभित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र कर्जा लिन राखिने धितो सुरक्षणको अनुपात ३० प्रतिशत र काठमाडौँ उपत्यका बाहिर ४० प्रतिशत कायम गरिदिएको छ ।
यसको अर्थ अब काठमाडौँ उपत्यकामा १ करोड रुपैयाँ बजार मूल्य भएको जग्गा धितोमा राख्दा बैंक तथा वित्तीय संस्थाबाट ३० लाख रुपैयाँ मात्रै ऋण पाईने छ । काठमाडौँ बाहिर १ करोड मूल्यको जग्गा धितो राख्दा ४० लाखसम्म ऋण पाईने छ ।
यसअघि काठमाडौँ उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था थियो ।
सेयर कारोबारलाई फाइदा हुने नीति
व्यवसायीहरुले काठमाडौँमा ५० प्रतिशत र बाहिर ६० प्रतिशत बनाउन आग्रह सहितको सुझाव दिएको भएपनि राष्ट्र बैंकले उल्टो ३० र ४० प्रतिशत गरिदियो । यसले रियलस्टेट क्षेत्रलाई गम्भीर असर पर्ने र घरजग्गामा रहेको बैंकको लगानी समेत जोखिममा पर्ने घरजग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले बताउँछन् ।
‘मौद्रिक नीति जे जे सुझाव दिएका थियौँ, त्यसको ठ्याक्कै उल्टो गरी आएको छ’ वाग्ले भन्छन्, ‘४० प्रतिशतलाई ५० प्रतिशत पुर्याइदेउ न भनेको ३० प्रतिशतमा झारिदिन्छ । अहिले आएको मौद्रिक नीति व्यापार र व्यवसायीलाई होइन सेयर कारोबारलाई मात्रै फाइदा हुने खालको नीति भयो ।’
उनले पैसा लगानी गरेर छोडिदिने र बोलकबोलमा लिलामी गरेर मूल्य बढाउने क्षेत्रमा लगानी जाने नीति लिनु अर्थतन्त्रका लागि ठिक नभएको पनि बताएका छन् ।
‘बिजनेशलाई, बिजनेश म्यानलाई सिध्याउने र जुवा प्रकृतिका कारोबारलाई प्रोत्साहन गर्ने नीतिले डुब्ने बाहेक अर्को कुनै ठाउँ हुँदैन’ वाग्ले थप्छन्, ‘घरजग्गा वा आवास विकासको क्षेत्र, जुन क्षेत्रमा सबै उत्पादन मूलक उद्योगबाट उत्पादित बस्तुहरु खपत हुन्छन्, यो क्षेत्र चाहिँ सधैँ अनुत्पादक क्षेत्र भईरहने । अनि जुवा प्रकृतिका कारोबारबाट कमाई हुने क्षेत्र चाहिँ उत्पादक क्षेत्र । यो परिभाषा नै अनौठोको छ ।’
उनले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी भएकाले यो क्षेत्र चलायमान नहुँदा बैंकिङ क्षेत्रको लगानी पनि फस्ने र बैंक तथा वित्तीय क्षेत्रबाट भएको लगानी सर्वसाधारणकै पैसा हो भन्ने कुरा राष्ट्र बैंकले बुझेर पनि नबुझेको जस्तो गरेको वाग्लेको आरोप छ ।
घर जग्गा क्षेत्रमा हालसम्म वित्तीय संस्थाहरुले गरेको कर्जा लगानी ६ खर्बको हाराहारीमा छ ।