एक वर्ष पनि टिकेन ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था, अब साढे २ आनाकै टुक्रा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 01:09:50 PM मा प्रकाशित

laxmi  sunrise bank

घर जग्गामा अस्वभाविक रकम 'फ्रिज' भएपछि त्यसलाई सहज पार्न मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुलाएको छ । स्थानीय तहहरुले कृषि र गैरकृषि गरी जग्गाको वर्गीकरण गरेपछि गैरकृषि भूमिमा वर्गीकृत जमिन मात्रै कित्ताकाट गर्न पाउने प्रावधानलाई सरल बनाउँदै सरकारले देशैभर पूरानै अवस्थामा कित्ताकाट खुला गरेको हो ।

घरजग्गा कारोबारलाई चलायमान बनाउन भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले कित्ताकाट खोलेको हो  । 

यसअघि व्यवसायिक प्रयोजनका लागि कति कित्ताकाट गर्ने भन्ने विषय समावेश थिएन । अब सरकारले भू–उपयोग नियमावली संशोधन गरेर स्थानीय तहहरुले व्यवसायिक क्षेत्र भनेर गरेका जग्गाहरुको वर्गीकरण अनुसार व्यवसायिक क्षेत्रको जमिनको पनि आवास क्षेत्रकै सरह कित्ताकाट गर्न पाउने निर्णय गरेको हो ।

भू–उपयोग नियमावली २०७९ मा काठमाडौँ उपत्यकाको आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई न्यूनतम ४ आना १ दाम (१३० वर्गमिटर) भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था छ । १५ आना २ पैसा ३ दाम भन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न पनि पाइँदैन । 

गएको वर्ष भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था गरिएको हो। उक्त व्यवस्था गत साल जेठ २३ मा राजपत्रमा प्रकाशित नै भइसकेको थियो । तर, अब भने साढे २ आना (८० वर्गमिटर) मै कित्ताकाट गर्न पाइने गरी मंगलबारको मन्त्रिपरिषदले बाटो खुला गरिदिएको हो । 

शहरी क्षेत्रमा मान्छेहरुसँग थोरै मात्रै जग्गा हुने भएकाले अंशबण्डा गर्दा १३० वर्गमिटर (४ आना १ दाम) कित्ताकाट गर्न जग्गा अपुग हुने भएकाले ८० वर्गमिटर (साढे २ आना) मै कित्ताकाट गर्न पाउने निर्णय सरकारले गरेको हो । 

त्यस्तै, कतिपय अवस्थामा एउटै जग्गा मोहीयानी हक अनुसार मोही र जग्गाधनी दुबैले लिनुपर्ने भएकाले पनि कित्ताकाट साढे २ आना कायम गर्नुपरेको भूमि व्यवस्था मन्त्रालयले बताएको छ ।

यसअघि, भूमि व्यवस्था मन्त्रालयले स्थानीय तहहरुलाई साउन ३१ गते पत्राचार गरेर आफ्नो क्षेत्रभित्रको भूमिलाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गरेर त्यसको जानकारी पठाउन गत मंसिर २३ सम्मको समयसीमा दिएको थियो । 

उक्त अवधिसम्म करिब १६० स्थानीय तहहरुले मात्रै जग्गाको वर्गीकरण गर्न सकेका छन् । अब स्थानीय तहहरुले जग्गा वर्गीकरणका लागि थप एक वर्षको समय पनि पाएका छन् ।

पछिल्लो पटक जग्गाको नापी हुँदा कृषि क्षेत्र र शहरी क्षेत्र भनेर नापी भएको जमिनमध्ये शहरी क्षेत्रमा नापी भएको जमिनलाई पनि सरकारले आवास क्षेत्र मान्ने निर्णय गरेको छ । 

शहरी क्षेत्रमा नापी भएको जमिनको पनि अब कित्ताकाट खुलेको छ । यो सुविधा भने वर्गीकरण नहुन्जेलसम्म मात्रै पाइनेछ । अब नयाँ नापी हुँदा वा पुनः नापी हुँदा पाखो तर्फको सीम र चाहार जग्गामा खेती नहुने भएकाले यस्तो जग्गालाई पनि आवास क्षेत्र मानेर कित्ताकाट खुलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि पोखरेली व्यवसायीसँगको भेटमा घरजग्गामा ठूलो पैसा फसेको निष्कर्ष निकालेर सरकारले घरजग्गा कारोबारलाई सहज बनाउन पूरानै अवस्था अनुसार कित्ताकाट खुला गर्ने तयारी गरिएको बताएका थिए । सोही अनुसार मङ्गलबारको मन्त्रिपरिषद बैठकले कित्ताकाट सहज बनाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved