
चालु आर्थिक वर्षको वैशाख महिनामा घरजग्गाको कारोबार बढेको छ । गत आवको सोहि अवधिको तुलनामा घरजग्गाको कारोबार १९.२७ प्रतिशतले बढेको हो ।
गत वर्षको वैशाख महिनामा घरजग्गा सम्बन्धी १ लाख १८ हजार ८७१ वटा कारोबार भएको थियो । यस वर्षको वैशाखमा यस्तो कारोबार बढेर १ लाख ४१ हजार ७८२ वटा पुगेको भुमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार ४९ हजार ७८२ वटा लिखत पारित, ४ हजार ५९ वटा नामसारी, ३२ हजार ४ सय वटा रोक्का र २७ हजार ८ सय वटा रोक्का रहेका घरजग्गा फुकुवा भएको हो ।
घरजग्गाको कारोबार बढेसँगै यसबार संकलन हुने राजस्वमा पनि वृद्धि भएको छ । वैशाख महिनामा घरजग्गा कारोबारबाट संकलन हुने राजस्वमा २४.४४ प्रतिशतले बढेको छ ।
गत वर्षको वैशाखमा घरजग्गाको कारोबारबाट ३ अर्ब १० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तो राजस्व बढेर चालु आवको वैशाखमा ३ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ ।
धेरै राजस्व संकलन हुने मालपोत कार्यलयहरुः
घरजग्गा कारोबारबाट सबैभन्दा धेरै राजस्व संकलन भुमिसुधार तथा मालपोत कार्यालय लगनखेलबाट भएको छ । लगनखेल कार्यलयबाट ४३ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन हुँदा
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौ बाट ३० करोड १९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर बाट २८ करोड २० लाख, मालपोत कार्यालय चावहिल, काठमाण्डौं बाट २२ करोड २६ लाख र मालपोत कार्यालय कलंकी, काठमाण्डौं २० करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी बाट १४ करोड ६८ लाख, मालपोत कार्यालय कास्की बाट १३ करोड ८५ लाख, मालपोत कार्यालय चितवन बाट १३ करोड १४ लाख,
मालपोत कार्यालय साँखु, काठमाण्डौं बाट ९ करोड ५२ लाख र भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलाली बाट ९ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।