घरजग्गा कारोबारमा सुधार देखिन थालेको छ । गत फागुन महिनामा मात्र घरजग्गा कारोबारबाट रु चार अर्ब १२ करोड बराबरको राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको हो ।
विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुरबाट रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार संकलन भएको छ ।
राजस्व संकलनको प्रवृत्ति हेर्दा घरजग्गा कारोबार लयमा फर्किएको संकेत देखिएको विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व संकलन भएको थियो ।
मालपोत कार्यालयहरूमध्ये कलङ्कीले रु २२ करोड ६१ लाख, चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, लगनखेलले रु ३८ करोड २८ लाख तथा चितवनको खैरहनीले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।
विशेषगरी काठमाडौं उपत्यका र प्रमुख सहरी क्षेत्रमा कारोबार बढ्दै जाँदा राजस्व संकलनमा वृद्धि देखिएको छ । विभागका अधिकारीहरूका अनुसार आगामी महिनाहरूमा अझै सुधार हुने अपेक्षा गरिएको छ ।