कहाँ हरायो विदेशमा रहेका नेपालीको १० खर्ब ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 28, 2022 | 12:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बा मानिने रेमिट्यान्स आप्रवाह घटिरहेको छ । कोरोना महामारीको समयमा समेत नघटेको रेमिट्यान्स अहिले विश्व ‘लकडाउन मुक्त’ भएपछि भने घटिरहेको छ । कोरोना विरुद्दको खोपलाई अभियानकै रुपमा अघि बढाएर नेपाली श्रम गन्तव्यका अधिकांश मुलुकले अहिले लकडाउन फुकाईसकेका छन् ।

नेपालबाट विदेश जानेको संख्या पनि बाक्लो हुँदै गएको छ । लकडाउन अगाडी अर्थात् कोरोना महामारी अगाडी विदेश गएका नेपालीहरु पनि अझै उतै छन् । तर, यस्तो अवस्थामा रेमिट्यान्स आप्रवाह घट्नु मुलुकका लागि सुःखद नभएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

श्रम स्वीकृति लिने बढे, रेमिट्यान्स घट्यो

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह ५.५ प्रतिशतले घटेको छ । ६ महिनामा जम्मा ४६८ अर्ब ४५ करोड रेमिट्यान्स भित्रिएको छ, जबकी, गत वर्षको यो अवधिमा रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा बढेर १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्ष भने यसरी श्रम स्वीकृति लिने नेपालीको संख्या ८९ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले बढेर १ लाख ३० हजार २१२ पुगेको छ । गत वर्षको यो अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको संख्या बिढरहँदा पनि रेमिट्यान्स आप्रवाह भने अस्वभाविक रुपमा ओरालो लागेको छ ।

वार्षिक क्षमता २० खर्ब, आयात आधा मात्रै

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हेर्दा यो वर्ष रेमिट्यान्स आप्रवाह मुस्किलले १० खर्बको हाराहारी पुग्ने अनुमान गरिएको छ । तर, वैदेशिक रोजगार व्यवसायी, रेमिट्यान्स कम्पनीका सञ्चालक र राष्ट्र बैंक नै पनि अनौपचारिक रुपमा रेमिट्यान्स क्षमता वार्षिक करिब २० खर्ब रहेको तर्क गर्छन् । यद्यपी, मुस्किलले आधा मात्रै आउने गरेको छ ।  

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ रेमिट्यान्स घट्नुमा मुख्यगरी आयात बढ्नु नै भएको बताउँछन् । विदेशबाट पैसा नभई सामानको आयात बढेका कारण रेमिट्यान्स घटेको देखिएको उनको तर्क छ ।

यो पनिः
म्यानपावर वर्गीकरणमा ११० अर्बको चलखेल, सफल होला त श्रममन्त्री श्रेष्ठको योजना ?

‘विदेशमा बसेका नेपालीले पैसा नपठाई सामान पठाउँदा पनि रेमिट्यान्स घटेको हुन सक्छ’ उनले भने, ‘अर्कोतर्फ विदेशमा रहेका नेपालीले यहाँ पैसा पठाएर के मा लगानी गर्ने ? घरजग्गा किन्न सक्ने अवस्था छैन, लगानीका अरु क्षेत्रमा प्रोत्साहन छैन । त्यसैले उतै लगानी गर्न लागेको पनि हुन सक्छ ।’

क्रिप्टो, हाइफर फण्ड जस्ता डिजिटल करेन्सीको कारोबारमा नेपालीहरुको पनि लगानी रहेको सुन्नमा आएको भन्दै राष्ट्र बैंकले यस्तोमा लगानी नगर्न अनुरोध गरिसकेको छ । राष्ट्र बैंकले पनि क्रिप्टो, हाइफर फण्ड लगायतमा विदेशमा रहेका नेपालीले लगानी गरेका कारण नेपालमा रेमिट्यान्स कम भित्रिएको अनुमान गरेको छ ।

सँगै, लकडाउन खुलेपछि ‘हुण्डी’ कारोबारी पनि सक्रिय भएको हुन सक्ने अनुमान गरिएको छ । औपचारिक च्यानलबाट पैसा पठाउँदा महँगो सेवा शुल्कका कारण विदेशमा रहेका नेपालीहरुले हुण्डीमार्फत पैसा पठाउने क्रम अझै कम हुन नसकेको दाबी कतिपयको छ ।्

कसरी बढाउन सकिन्छ रेमिट्यान्स ?

नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी ‘आईएमई’का सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि रेमिट्यान्सको अधिकांश हिस्सा दैनिक उपभोग्य बस्तुको खरिदमै सकिने बताउँछन् ।

उनले सरकारले रेमिट्यान्स बढाउन वैदेशिक रोजगारीमा रहेकाहरुलाई रेमिट्यान्स पठाउँदा विभिन्न सेवा सुविधा दिएर रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए । सँगै, सेवा शुल्क घटाउने लगायतका काम गर्न सकिए नेपालमा रेमिट्यान्स आप्रवाह बढ्ने दाबी ढकालको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल पनि उत्पादन मूलक क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्दै विदेशबाट पैसा पठाउँदा सरकारले थप सेवा दिने अभियान थालेको खण्डमा अहिलेको तुलनामा दोब्बर रेमिट्यान्स आप्रवाह बढ्न सक्ने दाबी गर्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved