एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकले यस अवधिमा गरेको मुनाफा गत आर्थिक बर्षको यसअवधिसँगको तुलनामा २२ करोडले बढी हो। त्यस्तै बैंकको संचालन मुनाफा ३८ करोडले वृद्धि भएर ३ अर्ब ६० करोड पुगेको छ।
बैंकले यस अवधिमा २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गरेपनि उसँग सेयरधनीलाई वितरणगर्न मिल्ने वितरणयोग्य मुनाफा ४० करोड ७४ लाख ९८ हजार मात्रै रहेको छ। बैंकले आफ्नो कमाई मध्ये जेनेरल रिजर्भ, सामाजिक उत्तरदायित्व, तथा १ अर्ब ५ करोड नियमन रिजर्भको लागि छुट्याएको छ।
बिगतमा नगदमा प्राप्त आम्दानीलाई मात्र आम्दानी मान्ने भएअनि एनएफआरएस लागू भएपश्चात भविष्यमा हुने आम्दानीलाई पनि अहिले नै आम्दानी मान्दा ब्याज आम्दानी बढी हुन् गई बैंक वित्तीय संस्थाको खुद मुनाफा धेरै देखिएको हो। एनएफआरएस अनुसार कुल आम्दानीबाट नगदमै उठेको आम्दानी कटाएर बाँकी रहेकोको ६३ प्रतिशत आम्दानी नियमन रिजर्भमा जम्मा गर्नुपर्ने हुन्छ। यसकारण एनआईसी एसियाको खुद मुनाफा २ अर्ब ५० करोड देखिएपनि त्यसबाट १ अर्ब ५ करोड नियमन रिजर्भको लागि छुट्याउनु पर्दा वितरणयोग्य मुनाफा घट्न गई ४० करोड ७४ लाखमा सिमित भएको हो।
कोरोनाका कारण करिब सबै बैंकहरुको खुद मुनाफा ठुलो फिगर देखिएपनि वितरणयोग्य मुनाफा सानो फिगर आउने देखिन्छ। अधिकांश ऋणीले चैतमा ब्याज नतिरेकाले यस्तो अवस्था आएको हो।
यस अवधिमा बैंकको निक्षेप १५ अर्बले बढेर १९६ अर्ब पुगेको छ भने कर्जा लगानी २५ अर्बले बढेर १७५ अर्ब पुगेको छ। बैंकको कुल कर्जा लगानी मध्ये ७४ प्रतिशत कर्जा न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । एनआइसी एसियाको निक्षेप बैंकिङ उद्योगको कुल निक्षेपको ८।७ प्रतिशत हो।
बैंकले ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ।यस अवधिमा बैंकको चुक्ता पुंजी ९ अर्ब ७१ करोड रहेको छ भने जगेडा कोषमा ६ अर्ब ७ करोड रहेको छ। गत आर्थिक बर्षको यस अवधिसंगको तुलना बैंकको खराब कर्जा झिनो अंकले बढेर ०।४३ प्रतिशतबाट बढेर ०।७५ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाँ ६८ पैसा, प्रति सेयर नेटवर्थ १६९ रुपैयाँ ३१ पैसा र मुल्य आम्दानी अनुपात १४ दशमलब ३० गुणा रहेको छ।