
सानिमा बैंक Sanima Bank Limited ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १ अर्ब ६१ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो मुनाफा गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ४ करोडले मात्रै बढी हो।
बैकको खुद मुनाफा १ अर्ब ६१ करोड भएपनि बैकंसँग सेयरधनीहरुलाई बाड्न मिल्ने मुनाफा ५७ करोड ६७ लाख मात्रै छ। गत बर्ष यस अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड थियो।
एनएफआरएस अन्तर्गत भविष्यमा हुने आम्दानिलाई पनि अहिलेनै प्राप्त आम्दानी मान्नु पर्ने भएकाले खुद मुनाफा बढी आएको हो। उक्त मुनाफाबाट प्राप्त हुन् बाँकी नगदलाई रेगुलेटरी रिजर्भ लगायतका शिर्षकमा छुट्याउनु पर्दा वितरणयोग्य मुनाफा कम हुन् आएको हो।
कोरोनाका कारण चैत महिना तथा आगामी महिनामा कर्जाको ब्याज उठ्न कठिनाई हुने भएकाले यस आर्थिक बर्ष सानिमा लगायत अधिकांश बैंकसंग बितरणयोग्य मुनाफा रकम कम हुनेछ। जसले गर्दा लाभांश क्षमतामा ह्रास आउने देखिन्छ।
यस अवधिमा बैंकले करिब १३ प्रतिशतले वृद्धि गरि १ खर्ब निक्षेप संकलन गरेको छ भने १३ प्रतिशतले नै वृद्धि गरेर ८९ अर्ब ३७ करोड कर्जा लगानी गरेको छ। त्यस्तै बैकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ११ प्रतिशतले बढेर ३ अर्ब २४ करोड पुगेको छ। गत बर्ष यो अंक २ अर्ब ९१ करोड थियो।
यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ८० करोड रहेको छ भने जगेडा कोषमा ३ अर्ब ८९ करोड छ। त्यस्तै यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.१६ प्रतिशतबाट घटेर ०.१२ प्रतिशतमा झरेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ ५२ पैसा, प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ २४ पैसा तथा मुल्य आम्दानिको अनुपात १३ दशमलब २१ गुणा रहेको छ।