
संचालनमा रहेका करिब सबै कमर्शियल बैंकहरुले चालू आर्थिक बर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन। अधिकांश बैंकहरुले उल्लेख्य प्रगती गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
२७ वटा कमर्शियल बैंक मध्ये पनि एक आपसमा पारस्परिक प्रतिस्पर्धी बैंकको रुपमा चिनिने नबिल, एनआईसी एसिया र ग्लोबल आइएमई बैंकको प्रगती विवरणबारे लगानीकर्ताको चाँसो धेरै रहेको पाइन्छ।
त्यसमाथि पनि पछिल्लो बजारमा चर्चामा रहेको मर्जर तथा प्राप्ति पश्चातको बैंकको अवस्थाबारे धेरै चाँसो रहने गर्दछ। ग्लोबल आइएमई बैंक स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशन गरेको बैंक हो। हालै मात्रै तत्कालिन जनता बैंकसंग मर्ज गरेको थियो।
त्यस्तै नबिल बैंकले हालै मात्रै नबिल बैंकको ४३ कित्ता बराबर बंगलादेश बैकको १०० कित्ता सेयर अर्थात ४३ को स्वापमा नेपाल बंगालदेश बैंकलाई प्राप्ति गरेको हो भने एनआईसी एसिया पनि तत्कालिन बैंक अफ एसिया र एनआईसी एसिया बैंक मिलेर बनेको बैंक हो।
यी तीन बैंक मध्ये कुन सूचकमा कुन अव्वल ?
चुक्तापुंजीको आधारमा ग्लोबल आइएमई बैंक अगाडी रहेको छ। ग्लोबल आइएमईको चुक्तापुंजी २३ अर्ब ७९ करोड हुँदा बंगलादेशलाई प्राप्ति गरेको नबिलको २२ अर्ब ८३ करोड रहेको छ भने एनआईसी एसियाको ११ अर्ब ५६ करोड रहेको छ।
चुक्तापुंजीमा ग्लोबल अईएमई बैंक अगाडी रहेपनि ब्यवसायिक आकार अर्थात निक्षेप संकलन, कर्जा प्रवाह र रिजर्भ तथा जगेडा कोष, संचालन मुनाफा, खुद मुनाफामा नबिल बैंक नै पहिलो स्थानमा रहेको छ।
तर सेयरको दोस्रो बजारमा लगानी गर्ने कारोबारी तथा लगानीकर्ताले महत्त्वका साथ हेर्ने प्रति सेयर आम्दानी, खराब कर्जा अनुपात, स्प्रेड रेट (ब्याजदर अन्तर), लगायतका महत्त्वपूर्ण सुचकमा भने एनआईसी एसिया अगाडी रहेको छ।