अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको अघिल्लो आर्थिक वर्षको खुद मुनाफामा गिरावट देखिंदा नबिल बैंकले बढेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष ६ अर्ब ४० करोड खुद मुनाफा आर्जन गरेकोमा गत आर्थिक वर्ष ७ अर्ब ६ करोड खुद मुनाफा आर्जन गरेको छ।
कम्पनीले ७ अर्ब खुद मुनाफा आर्जन गर्दा वितरणयोग्य मुनाफा ३ अर्ब ८५ करोड रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा ६७ करोडले बढी हो। वितरणयोग्य मुनाफा बढेकाले कम्पनीको लाभांश क्षमता पनि अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। लाभांश क्षमता ११ दशमलब ७८ प्रतिशतबाट बढेर १४ दशमलब २६ प्रतिशत पुगेको छ।
त्यस्तै कम्पनीको आधार दर पनि ९ दशमलब ५२ प्रतिशतबाट घटेर ७ दशमल ६३ प्रतिशत पुगेको छ। आधार दर घटेकाले कम्पनीले आगामी दिनमा सस्तो ब्याजमा कर्जा दिन सक्नेछ। त्यस्तै बैंकको खराब कर्जा अनुपात पनि १ दशमलब १८ प्रतिशतबाट घटेर १ दशमलब ०७ प्रतिशतमा झरेको छ।
यस अवधिमा कम्पनीको चुक्तापूँजी २७ अर्ब रहेको छ भने रिजर्भमा २८ अर्ब छ। त्यस्तै यस अवधिमा कम्पनीको निक्षेप ६६ अर्बले बढेर ३ खर्ब ९६ अर्बबाट ४ खर्ब ६२ अर्ब पुगेको छ। यस अवधिमा नबिल कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ९ पैसा, प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा तथा मूल्य आम्दानी अनुपात २० दशमलब ०८ गुणा छ।