
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाको खुद नाफा शतप्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
संस्थाले पुस मसान्तसम्ममा २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६२ प्रतिशत बढी हो। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको खुद नाफा १० करोड ४१ लाख रुपैयाँ थियो।
संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेखनीय वृद्धि गरेपछि नाफामा दोब्बर वृद्धि देखिएको हो। समीक्षाअवधिमा खुद ब्याज आम्दानी ८७.९६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.२५ प्रतिशतले घटेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ४६.८७ प्रतिशत वृद्धि भएको छ भने सञ्चालन मुनाफा १०६.६२ प्रतिशतले उकालो लागेको छ।
प्रतिशेयर आम्दानी ३२ रुपैयाँ पार, नेटवर्थमा सुधार
दोस्रो त्रैमासको अन्त्यसम्म लघुवित्तको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ पुगेको छ भने बजारमा वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा रहेको छ। प्रतिशेयर आम्दानी १३ रुपैयाँ १२ पैसाले वृद्धि भई ३२ रुपैयाँ ३४ पैसामा पुगेको छ। सो अवधिसम्म संस्थाको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ६७ पैसा तथा मूल्य आम्दानी अनुपात (P/E Ratio) ४०.९१ गुणा कायम भएको छ।
संस्थाको चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ। संस्थाले २२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
देशभर लघुवित्त सेवा विस्तार, ७४ जिल्लाका विपन्न परिवारलाई वित्तीय पहुँच
राष्ट्रिय स्तरको लघुवित्त संस्था को रूपमा नेशनल लघुवित्त स्थापना कालदेखि नै नेपालको वित्तीय समावेशीकरण वृद्धि गर्ने र गरिबी न्यूनीकरणमा योगदान दिने लक्ष्यका साथ अगाडि बढिरहेको छ। हाल देशभर १८४ शाखा कार्यालयमार्फत ७४ जिल्लाका २,३५,८३० विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव ले छिटो, छरितो, विश्वासनीय र दिगो सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रविधिमा आधुनिकीकरण गरिएको बताए। संस्थाले महिला उद्यमशीलता प्रवर्द्धन गर्दै कृषि, पशुपालन, सेवा व्यवसाय र लघुउद्यम सञ्चालनका लागि विशेष रूपमा केन्द्रित लघुवित्त सेवा उपलब्ध गराइरहेको उनले जानकारी दिए।
यादवका अनुसार, आगामी आर्थिक वर्षमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी लघुवित्त सेवा अझ प्रभावकारी रूपमा पुर्याउने योजना रहेको छ। ग्राहकको नवीनतम आवश्यकता अनुसार सेवा परिष्कृत गर्दै लैजाने संस्थाको व्यवस्थापन पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।