
सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार संस्थाको नाफा उल्लेखनीय रूपमा वृद्धि भएको छ।
दोस्रो त्रैमासको अन्त्यसम्म संस्थाको खुद नाफा १०४.५९ प्रतिशतले वृद्धि भई ४ करोड ३१ लाख ६२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा २ करोड १० लाख ९७ हजार रुपैयाँ मात्र नाफा कमाएको संस्थाले यस वर्ष दोब्बरभन्दा बढी वृद्धि हासिल गरेको हो।
संस्थाको खुद ब्याज आम्दानी ३२ प्रतिशतले वृद्धि भई १७ करोड ४० लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा १३७.५७ प्रतिशतले बढेर ५ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ। संस्थाले इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल गरेपछि नाफामा उल्लेखनीय वृद्धि भएको हो।
प्रतिशेयर आम्दानी र नेटवर्थ उच्च दरमा उकालो
संस्थाको चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) ३२ रुपैयाँ ४० पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तारको स्वीकृति प्राप्त यस लघुवित्तले ७७ जिल्लाका १२४ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ। वित्तीय पहुँच नपुगेका दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राख्दै लघुवित्त सेवा विस्तार गर्ने लक्ष्य संस्थाले लिएको छ।
हालसम्म संस्थाले १,२२,७९७ विपन्न वर्गका घर परिवारलाई लघुवित्त सेवा प्रदान गरिसकेको छ। संस्थाले कर्जा, बचत, तथा रेमिट्यान्स सुविधालाई अझ प्रभावकारी बनाउन विभिन्न योजनाहरू अघि बढाइरहेको छ।
वित्तीय साक्षरता र कर्मचारी दक्षता अभिवृद्धिमा जोड
सीवाइसी नेपाल लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। कर्मचारी दक्षता अभिवृद्धि, कार्यकुशलता वृद्धि, र उत्पादनशीलता सुधार गर्न कर्मचारीहरूलाई आवश्यक पर्ने तालिम तथा सेमिनारमा सहभागी गराउने नीति संस्थाले अवलम्बन गरेको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्रप्रसाद शर्मा का अनुसार, "सन्तुष्ट सदस्य नै संस्थाको दिगोपनको आधार हो, त्यसैले वित्तीय सेवाहरूको पहुँच विस्तार गर्दै ग्राहकहरूको बदलिंदो आवश्यकताअनुसार थप परिष्कृत सेवा प्रदान गर्ने हाम्रो योजना छ।"
आगामी दिनमा संस्थाले कर्जा, बचत, रेमिट्यान्स सुविधाहरूलाई आधुनिक प्रविधिसँग एकीकृत गर्दै वित्तीय सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना अगाडि बढाइरहेको छ।