
माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा वृद्धिको प्रमुख कारण इम्पेयरमेन्ट चार्जमा देखिएको गिरावट र ब्याज आम्दानीमा आएको बृद्धि रहेको देखिन्छ । अघिल्लो वर्ष ९४ करोड ४३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु त्रैमाससम्ममा घटेर ७१ करोड ५६ लाख रुपैयाँमा झरेको छ । चार्ज घटेपछि बैंकको नाफामा सकारात्मक असर परेको हो ।
त्यस्तै, खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो वर्ष ३ अर्ब ८४ करोड रुपैयाँ रहेको आम्दानी चालु त्रैमासमा ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यसले बैंकको सञ्चालन दक्षता सुधार भएको संकेत गर्छ ।
बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ छ । जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ जम्मा छ, जसले भविष्यमा बैंकलाई जोखिम व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।
चालु त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी (EPS) १२.६५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ रहेको जनाइएको छ ।