
सिन्धु विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु. ५ करोड ४० लाख खुद नोक्सानी व्यहोरेको बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्ममा रु. ७ करोड ८४ लाख खुद नाफा कमाउन सफल भएको छ।
दोस्रो त्रैमाससम्म ८.२२ प्रतिशत रहेको पुँजीकोष अनुपात उल्लेखनीय सुधार हुँदै तेस्रो त्रैमासमा ११.४९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम १० प्रतिशतको सीमा पार गरेपछि बैंकले सिघ्र सुधारात्मक कारबाहीबाट हट्ने विश्वास लिएको जनाएको छ।
चैत्र मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी (EPS) रु. १८.७६ रहेको छ। त्यस्तै, निष्क्रिय कर्जा अनुपात (NPL) ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत तथा प्रतिशेयर नेटवर्थ रु. ७९.८९ रहेको विवरणमा उल्लेख गरिएको छ।
हालै सम्पन्न दुई आर्थिक वर्षको वार्षिक साधारण सभाबाट बैंकले हालको चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिसकेको छ। यस प्रस्तावको उद्देश्य न्यूनतम रु. १२० करोड चुक्ता पुँजीको मापदण्ड पूरा गर्नु रहेको बताइएको छ।
सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन गरी पाँच जिल्लामा कार्यक्षेत्र राख्ने क्षेत्रीयस्तरको विकास बैंक हो। हाल बैंकले २६ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। प्रमुख कार्यकारी अधिकृतको रूपमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा पुस महिनादेखि कार्यरत रहेका छन्।