'सुबिधा बढाईदिए अहिलेकै ब्रोकरले नै धेरै गर्न सक्छन् '

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2016 | 01:31:31 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय बजार परिसूचक नेप्सेमा अस्वभाविक उतारचढाव भयो । नियामक निकाय धितोपत्र बोर्डका विभिन्न निर्णय र निर्देशनलाई केहि लगानीकर्ताले  'अनाबश्यक र नियोजित'को संज्ञा समेत दिए । अघिल्लो दिन बजार घटेर सर्किट ब्रेक लाग्ने, भोलिपल्ट बजार बढेर सर्किट ब्रेक लाग्ने अवस्था पनि आयो । यसरी बजार स्थिर नहुँदा केहि लगानीकर्ता आत्तिएका पनि देखिए । यिनै बिषयमा आधारित रहेर बिजपाटी डटकमले लिन्च स्टक मार्केट प्राइभेट लिमिटेडका कारोबार प्रतिनिधि रामहरी अधिकारीसँग बजारको उतार चढाव, बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने बिषय लगायतका बिषयमा कुराकानी गरेको छ  । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

 

यस पटक अफ सिजनमा बजार बढेको छ, सिजनमा बजार घटेको छ ।  के बजारको ट्रेण्ड नै परिवर्तन भएको हो ?

सामान्यतया जेठ असारलाई सेयर बजारमा अफ सिजन मानिन्छ र यो बेला बजार घट्ने गर्दछ। तर अहिले सेयर बजारमा यसको ठिक बिपरित भएको देखिएको छ। घट्नु पर्ने बेलामा बढेको छ, बढ्नु पर्ने सिजनको समयमा बजार घटेको छ। अफ सिजनमा बजार केहि अंकले करेक्सन भैदिएको भए अहिले बजारले अहिलेको भन्दा बढी उचाई लिने अनुमान गर्न सकिन्थ्यो तर यसपाली यस्तो भएन। अफ सिजनको बेला बजार बढेकाले प्रफिट बुकिङ गर्न खोज्दा सिजनको समयमा बिक्रि बढ्न पुगी बजार घटेको जस्तो लाग्छ। यसरी झट्ट हेर्दा अहिले बजारको ट्रेण्ड उल्टो भएको जस्तो देखिएको छ।

बजार घटेर अझै तल आउछ भन्ने आवाज पनि सुनिएको छ, यसमा तपाईको बुझाई के छ ?

 बढेको बजारमा शेयर बेचेर बाहिरीने हरुले नै 'बजारको उचाई १८८२ धेरै भयो, यो नै बुलको अन्तिम बिन्दु हो, अब बजार घट्छ' जस्ता भनेर हल्ला फिजाउदै हिडेका छन। बजार बढेर कहाँ पुग्छ र घटेर कहाँ झर्छ भन्ने कुराको वास्तविक उत्तर कसैसंग हुदैन। बजार माग र आपूर्तिको नियन्त्रणमा हुन्छ। मुख्य कुरा माग र आपूर्ति बढाउने र घटाउने प्रमुख कारण के हो भनेर लगानीकर्ताले बुझ्ने पर्ने हुन्छ। बजारको आधारभुत टुल्स हेरेर लगानीको निर्णय गर्नु नै लगानिकर्ताको हितमा हुन्छ। जबसम्म बैंकको ब्याजदर बढ्दैन र लगानीको अर्को भर पर्दो क्षेत्र तयार हुदैन त्यो बेलासम्म बजारले उचाई आधार बलियो देखिन्छ।

अहिलेको अवस्थालाई हेर्ने हो भने एकातिर बैंकमा तरलता अत्यधिक छ भने न्यून ब्याजदरमा ऋण उपलब्ध गराउदै आएका छन्। अर्को तिर गत आर्थिक बर्षमा नेप्सेमा सुचिकृत अधिकांश कम्पनीहरुले राम्रो कमाई गरेका छन् र लगानीकर्ताले फल पाउने सिजन पनि हो। यो सबैलाई आधार मान्ने हो भने बजारले उचाई लिने आधार बलियो देख्छु।

सिजनको बेलामा सम्पती शुद्दिकरण जस्ता कुरा उठाईनु सुनियोजित थियो ?

यसलाई सुनियोजित नै त् भन्न मिल्दैन ।   सम्पती शुद्दिकरण बिभाग पहिले देखि नै खडा थियो। उसलाई जुनसुकै बेलापनि अनुसन्धान गर्न पाउने अधिकार छ। धितोपत्र बोर्डले अलि बढी अग्रसरता देखायो।  यसै बिषयलाई फरक ढंगबाट व्याख्या गरियो र बजारमा अस्वाभाविक उतारचढाब देखियो। यहि कुरालाई मध्यनजर गरेर बोर्डले यो कुरा जसले हेर्न पर्ने हो उसैले हेर्नुपर्छ (जुन अहिले प्रक्रियामा छ) भनेर यो च्याप्टर बन्द गर्यो।

मेरो विचारमा स्रोतनै नखुलेको लगानी सेयर बजारमा छ भन्ने जस्तो लाग्दैन, हाम्रोमा त्यस्तो छैन। एक थरी समूहले भने यसलाई राम्रो अवसर ठानेर बढी नै चलखेल गरेको नै हो, जसले लगानीकर्तालाई खासमा नव प्रवेशीलाई एक किसिमको हतोत्साही नै बनायो। बजार बढेको बेला भएको सेयर बेचेर बाहिरिने एक लगानिकर्ताको समुहले सम्पति सुद्दिकरणको बिषयलाई यसरी उठायो जसले लगानीकर्तालाई 'आतंकित' नै बनायो। उनीहरु बजारमा सेयर उठाउनका लागी अझै पनि उचित समयको पर्खाइमा छन् जस्तो मलाई लाग्छ। त्यसैले पनि लगानीकर्तालाई सुझ बुझको साथमा स्वबिवेक प्रयोग गरेर लगानीको निर्णय गर्न सल्लाह दिन्छु।

यस्तो अवस्था समेत आयो कि बजार अघिल्लो दिन सर्किट लाग्ने गरि घट्यो र लगत्तै पछिल्लो दिन सर्किट लाग्ने गरी बढ्यो। यसले सेयरबजारमा रहेका धेरै लगानिकर्ता 'परिपक्व'नभएको हो कि भन्ने देखाउछ। सेयर बजारको बारेमा सामान्य ज्ञान समेत नभएका र नयाँ लगानिकर्तामा आत्तिने प्रवृत्ति देखियो। जसले बजार उतारचढाब गराउन राम्रैसंग मलजल गर्यो।

 बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनु पर्छ भन्ने आवाज बलियो बन्दै गएको छ? यसमा तपाइको धारणा के छ ?

  धितोपत्र बजारको विस्तार र विकास होस र यसको दायरा अझै फराकिलो होस् भन्ने मेरो व्यक्तिगत धारणा छ। सिमित क्षेत्रमा सिमित व्यक्तिका पहुँच भन्दा बाहिर पुगेर बजारमा धेरै भन्दा धेरैको पहुँच हुनु पर्छ भन्ने मेरो धारणा हो। धितोपत्र बोर्डले बिधि प्रक्रिया पुरा गरेर 'सिस्टम' मिलाएर बजार बिस्तारका लागी लगानीकर्तालाई सुविधा हुने गरी काम अगाडी बढाउनु पर्छ भन्ने हो। बैंकहरुलाई  ब्रोकर लाइसेन्स दिदैमा सबै लगानीकर्तालाई सुविधा हुन्छ भन्ने कन्सेट मात्र पनि उचित हुदैन कि भन्ने लाग्छ।

कार्यक्षमता बढाएर, क्षमता विस्तार गरेर, बाहिर शाखा खोल्ने देखि लिएर सबै किसिमको सुविधा दिने हो भने अहिले कायम ब्रोकरहरुले समेत धेरै लगानीकर्ताको पहुँचमा हुने गरी सुविधा दिन सक्छन भन्ने लाग्छ।

पछिल्लो पटक बजारमा कस्ता प्रकृतिका लगानीकर्ताको भिड बढी छ ?

अहिले बजारमा सबै उमेर समूहका लगनिकर्ता हुनुहुन्छ। तर सेयर बजारमा प्रवेश गर्दै गरेका र प्रवेश गरिसकेका सबै लगानिकर्ता बजार बुझेर आउनुभएको जस्तो देखिदैन। अहिले युवा पुस्ताको प्रवेश तिब्र रुपमा बढेको छ। यो समूहका लगानीकर्तामा सेयर बजार बारे अध्ययन र बुझाई राम्रो रहेको भेटिएको छ। तर सेयर बजारमा फलानोले कमायो, बजार बढ्यो रे कमाई राम्रै हुन्छ भनेर हल्लाका भरमा बजार भित्रिनेको संख्या पनि कम छैन। कति सम्म भए सेयर किन्ने भन्नु हुन्छ तर कुन कम्पनीको किन्ने हो , कति किन्ने हो , कहिले बेच्ने हो जस्ता सामान्य कुरा समेत जानकारी नभएका लगानिकर्ता समेत बजारमा हुनुहुन्छ।

लगानीकर्तालाई के सल्लाह दिनु हुन्छ ?

लगानी गर्न खोजेको कम्पनीको बारेमा बुझेर र कम्तीमा पनि कम्पनीको बारेमा अध्ययन गरेर लगानी गर्न लगानीकर्तालाई सुझाब दिन्छु। बजारमा साना साना कुराले पनि प्रभाब पार्दछ यस्ता चर्चा क्षणिक हुन्छन। कम्पनीको वित्तीय रिपोर्ट, आगामी योजना, योजनामा भएका परिवर्तनले शेयर मूल्यलाई असर पार्दछ र यस्ता कुरामा बढी सचेत भएर लगानी गर्नु पर्छ। तर बजारमा चल्ने अन्य बाहिरी चर्चा अस्थायी हुन्छन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved