आज बडा दसैंको सातै दिन हो । भगवती दुर्गाको सातौं स्वरुप
कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको
योगनिन्दा पनि भनिन्छ ।
पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ ।
करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां
विद्युतमाला विभूषिताम् ।।
शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभित गर्नेवाला छ । कपाल
फिजाएको छ भने उनको चार हात छन् । विद्युतको माला लागाएकी यस्ती कालरात्रीको काल
पनि डराउने स्वरुप रहेको छ ।
चार हातमध्ये एक हातमा तरवार एकमा काटिएको शीर र अर्को हालमा
काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको
रहेको छ । देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभफल पनि दिने भएकाले
कालरात्रीलाई शुभांकरी पनि भनिन्छ ।
कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रास समाप्त हुने
विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने
विधि रहेको छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन
चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन
कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन
सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुँइचो
लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला
भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको
छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष
पूजाआराधना हुने गर्छ ।