पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला, यात्रुलाई पेनड्राइभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 09:09:34 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो ।

बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने व्यवस्था गरिएको छ । दशैँको टिकट खुला भएसँगै संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारीसाधनमा जनचेतनामूलक सामग्रीसहितको पेनड्राइभ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ’, ‘आफ्नो देश आफँै बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहकार्यमा बिहीबारदेखि पेनड्राइभ वितरण गर्न शुरु गरेकोे हो ।

संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ विगत वर्षमा सुरक्षित यात्राका लागि पर्चा र पम्प्लेट वितरण गरे पनि अभियानले सार्थकता नलिएकाले अहिले पेनड्राइभमार्फत जनचेतनामूलक कार्यक्रम प्रसारण गरिरहेको बताउछन् । अहिले नयाँ बसपार्कबाट छुट्ने एक हजार सवारीसाधनलाई पेनड्राइभ वितरण गरिए पनि आगामी दिनमा देशैभर उक्त अभियान थालिने उनी बताउछन । समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड, हरेक हप्ता सरसफाइ, विद्यालयमा असल संस्कारसम्बन्धी कक्षा सञ्चालन र अनाथ तथा असहायलाई सहयोग गर्दै आएको छ । दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ । दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट गुड्ने गरेका छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर अभियानले चालक, सहचालक र यात्रुलाई सचेत बनाउने हुँदा दुर्घटनामा समेत कमी आउने बताउछन् । चाडपर्वको बेला सुरक्षित यात्रामा अभियानले सहयोग पुग्ने उनको भनाइ छ । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुको समस्या समाधानका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको बताउछन् । यात्रु सहायता कक्ष स्थापनासँगै कहाँ जाने भाडा कति भन्ने स्पष्ट हुने भएकाले यात्रु ठगिनेबाट जोगिने उनको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन र टिकटमा हुने कालाबजारी रोक्न ट्राफिक प्रहरी लागिरहेको बताउछन् । दशैँका टिकट काट्ने हरेक काउन्टरको अगाडि भाडासमेत स्पष्ट रुपमा लेखेर यात्रुले देख्ने ठाउँमा टाँस्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved