कसूर प्रमाणित भए महरालाई के हुन्छ सजाय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2019 | 08:34:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन। सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका महरालाई अनुसन्धानको लागि सिंहदरबार वृत्तमा राखेर परिसर काठमाडौंले मुद्दा प्रकृया अघि बढाउने भएको छ।

पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ। यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ। महराविरुद्ध पीडित भनिएकी रोशनी शाहीले गएको शुक्रबार बानेश्वर प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।   

यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको थियो। प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न दिउँसो निवेदन दिएको थियो।

महारामाथिको आरोप 

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्। 

उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। यद्दपी उनले आफ्नो भनाईमा अडान लिन सकेकी छैनन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।

शाहीले महरा 'बाबुसमान' भनेको अन्तर्वार्ता सार्वजनिक भएपछि पहिलो भिडियो सार्वजनिक गर्ने नेपाली कांग्रेसको मुखपत्रको उपमा पाएको मिडियाले पुन: अर्को भिडियो सार्वजनिक गरेको थियो। जसमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई शाहीले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएको दृश्य देखाइएको छ।   

महराका विकल्प 

सभामुख निवासबाटै पक्राउ परेका महरासंग प्रहरी हिरासतमा बसेर न्यायालयसमक्ष आफूविरुद्ध लागेको आरोपको कानुनी प्रतिरक्षा गर्नु बाहेक तत्काल अन्य कुनै विकल्प देखिदैन। अर्थात महरासंग आफुलाई लगाइएको बलात्कारको आरोपको कानुनी प्रतिरक्षा गर्ने अधिकार सुरक्षित छ। 

आरोप प्रमाणित भए के हुन्छ ?

महरासंग निर्दोष साबित गर्ने प्रशस्त मौका छ। तर दोषी ठहर भए उनले कैद सजाय भोग्नुपर्ने निश्चित छ। कैद सजाय भोग्नुपर्ने भएपनि त्यसको अवधिमा भने फरक पर्नेछ। 

नेपालको कानुनी व्यवस्थाअनुसार जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुन्छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

पिडित भनिएकी महिलाले पहिलो भिडियोमा आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन भने उजुरी दिंदा बलात्कारको प्रयास गरेको भन्ने छ। यसर्थ यसलाई 'अपराध पूरा नभएको तर प्रयास गरेको' अवस्थाको रुपमा लिईन्छ। दफा ३४ मा यस्तो अवस्थामा आधा सजायँ हुने व्यवस्था छ। 

बलात्कार कसूरमा ७ देखि १० वर्ष सजायँ हुने भन्ने छ। यद्दपी बलात्कारको प्रयास गरेको अवस्था पुष्टि भएमा महरालाई साढे ३ देखि ५ वर्ष सजायँ हुन सक्छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved