चीनको तिब्बत जोड्ने ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य अघि बढ्यो

रासस

रासस

Oct 12, 2019 | 12:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले दुवैतर्फबाट निर्माण कार्य अघि बढाएको हो । 

गत असोज १२ गतेदेखि चीनको तिब्बतबाट भाडामा ल्याइएका चार वटा मेसिनमार्फत ओलाङचुङ्गोला बस्तीदेखि लेलेपतर्फको भागमा झण्डै डेढ किलोमिटर ट्र्याक खोलिसकिएको छ । एलाइटले फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरी तिब्बतबाट मेसिन औजारसहित जनशक्ति भाडामा ल्याएर काम अघि बढाएको हो । 

यता सदरमुकाम तर्फबाट लेलेपको लुङथुङसम्म ट्र्याक खोलिसकिएको छ भने दशैँ बिदामा निस्किएका कामदारसमेत फर्किएर काम शुरु गर्ने तयारीमा रहेको एलाइट कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । पाँच वटा ठूला मेसिन लगाएर काम गरिरहेको उनको भनाइ छ । लामिछानेका अनुसार दुवैतर्फबाट काम अघि बढेकाले एक वर्षभित्रै ओलाङचुङ्गोला सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिनेछ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम भइरहे पनि भौगोलिकरूपले कठिनाइ र स्थानीयको अवरोध आदिले ढिलाइ भइरहेको लामिछानेको भनाइ छ । अब झण्डै २० किलोमिटर ट्र्याक खोल्न बाँकी छ । 

उता दुई वर्षअघि नै चीनको तिब्बतबाट ओलाङचुङ्गोला बस्तीसम्म ट्र्याक खुलिसकेको छ । स्थानीयको समेत लगानी रहेको टिपतालादेखि ओलाङचुङ्गोला बस्तीसम्मको झण्डै २१ किलोमिटरको ट्र्याक खोल्न झण्डै रु तीन करोड लागेको थियो । सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने ओलाङचुङ्गोलामा हाल बसोबास गरिरहेका र यहाँ जन्मिएर देश तथा विदेशमा रहेकाले पैसा जम्मा गरी बाटो खनाएका थिए । चाँडै गाडी चढ्ने सपनासहित आफैँ लगानी गरेर सडक खनाएका स्थानीय सर्वसाधारणले भने उक्त सडकमा अझै गाडी चढ्न पाएका छैनन् । 

छोटो दूरीमा नै प्रदेश नं १ लाई दुई छिमेकी मुलुक चीन र भारतसँग जोड्ने रणनीतिक महत्वको सडक भए पनि निर्माण कार्य भने कछुवाको गतिमा रहेको भन्दै स्थानीयवासीले गुनासो गर्ने गरेका छन् । पूर्वको समृद्धिसँग जोडिएको यो सडकलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउनु पर्नेमा स्थानीयवासीको जोड छ । छिमेकी मुलुक भारत र चीनलाई १४ वटा सडक सञ्जालले जोड्ने सरकारको योजनाअनुसार लोकमार्गको ट्र्याक खोल्ने काम शुरु भएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणले गति लिन नसकेको बताइएको छ । यो सडक निर्माण पूरा भए ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैँची, चिराइतोलगायतका जडीबुटी चीन र भारत निर्यातमा सहज हुने स्थानीय व्यवसायीहरु बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved