चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग सामूहिक भेटवार्ता गरेका छन् । भेटमा उनले प्रशिक्षणकै शैलीमा नेकपालाई अनुशासित र जनताप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् ।
नेकपाका प्रवक्ता समेत रहेका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठका अनुसार सीले नेकपालाई मुख्यतः २ सुझाव दिएका छन् ।
१) साशन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले पहिले आफुभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ । यो हाम्रो अनुभव हो ।
२) चीनियाँ कम्युनिष्ट पार्टीले चीनमा शासन गर्न सकेको, क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन, निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकाले हो ।
भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । त्यसपछि राष्ट्रपति सीले अध्यक्ष दाहालसँग बेग्लै भेटवार्ता गरेका थिए ।