
मलेसियामा जारि एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतमाथि जित हासिल गरेको छ । नेपालले ३ पटकको च्याम्पियन भारत बिरुद्द नेपालको १९ रनको ऐतिहासिक रोमान्चक जित हात पारेको हो ।
१८६ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ४८.१ ओभरमा अल आउट हुदै १६६ रन मै समेटियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ , पवन सराफ र साहव आलमले समान २-२ तथा सन्दिप लामिछाने , र कमल सिंह ऐरीले समान १-१ विकेट लिए । भारतका लागि हिमान्छु राणाले सर्बाधिक ४६ र मंजोत कार्लाले ३५ रन्को योगदान दिए ।
जितको लागि नेपालले १८६ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन जोड्यो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै सर्बाधिक ८८ रन जोडे । १०१ बल खेलेका उनले उनले ६ चौका तथा २ छक्का प्रहार गरे । शतक बनाउने सुनौलो अवसर भने उनले गुमाए । ४८.२ ओभरमा उनलाई भारतका मन्दिप सिंहले आउट गरेका हुन् ।
त्यस्तै जितेन्द्र सिंहले ३६, भिम कार्कीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन । आशिफ शेख ३ , अनिल शाह ६, पवन शरफ १, कमल सिंह ऐरी ५ रनमा आउट भए । सन्दिप लामिछाने ९ र किशोर महतो ७ रनमा नट आउट रहे ।
शनिवार भएको पहिलो खेलमा बंगलादेशसँग डकवर्थ लुइस (डिएल) पद्दतिको आधारमा २ विकेटले पराजित नेपाललाई दोस्रो चरणमा पुग्न आजको खेल जित्नैपर्ने बाध्यता थियो ।
पहिलो खेलमा १० रन डिफेन्ड गर्न बाँकि रहंदा ४ बलमा बंगलादेशको ३ विकेट लिए पनि जित्न नसकेको नेपाल अन्तिम ओभरमा चुक्दा बंगलादेशसँग पराजित भएको थियो ।
कठिन मानिएको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेलमा मलेसियासँग खेल्ने छ । मलेसियासँग जित हात पारे नेपाल सेमिफाइनलमा पुग्ने छ ।
नेपाल र मलेसियाबिचको खेल मंगलबार हुने छ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह बी मा श्रीलंका, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् । हाल नेपालको समूहमा रहेका भारत , नेपाल र बंगलादेश सबैको समान २-२ अंक भएको छ।