
शसस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सकिएको फाइनल खेलमा पुलिसले एपीएफलाई हराउँदै जित हात पारेको हो ।
पुलिसका युवा फास्ट बलर गुल्सन झा र सागर ढकाले चार चार विकेट लिएपछि एपीएफ १०५ रनमै अलआउट भयो । जवाफमा पुलिसले २४.१ ओभरमा जम्मा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पुलिसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । दिपेन्द्र सिंह ऐरीले २५औं ओभरको पहिलो बलमा अभिनाश बोहराको बललाई छक्का प्रहार गर्दै जित पक्का गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको मेयर्स कप जित्दै पुलिसले नगद ५ लाख रुपैयाँ जितेको छ । उपविजेता बनेको एपीएफले ३ लाख पाएको छ । पुलिसले गत वर्ष तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेट जितेपछि पहिलोपटक ५० ओभरको खेल जितेको हो ।
एपीएफ भने लगातार दुईवटा एकदिवसीय क्रिकेटमा उपविजेतामै सिमित भएको छ । माघमा भएको प्रधानमन्त्री कपको फाइनलमा एपीएफ त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।